हेटौंडाः बर्दिया, कपिलवस्तु र रुपन्देही जिल्लामा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । आज बिहान मात्रै कपिलवस्तुमा १० जना संक्रमित पाइएको जनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ बजे २० मिनेटको समयमा प्रेस विज्ञप्ति जारी गर्दै कपिलवस्तुसहित तीन जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । आज बिहान १० जना तथा दिउँसो एकजना गरी ११ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३० र ३८ वर्षीय पुरुषहरु, रुपन्देही जिल्लाको सामरीमाई गाउँपालिका–७ र लुम्बिनी संस्कृति गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बर्दिया जिल्लाको राजापुर–५ का ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।