नेपाल पत्रकार महासंघको बागमती प्रदेश समिति र मकवानपुर जिल्ला समितिले बिहीबार जारी गरेको विज्ञप्ति ।

हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला समिति र बागमती प्रदेश समितिले दबाबमा आएर जघन्य अपराधको मुद्दामा अनुसन्धान जारी रहँदा निश्पक्ष छानविनको माग गर्दै विज्ञप्ति जारी गरेको छ । महासंघको सदस्य समेत रहेका इन्द्रप्रसाद बन्जारा (रमेश) बलात्कारको अभियोगमा पक्राउ परेको १५औं दिनमा दबाबमा परेर महासंघको जिल्ला र प्रदेश समितिले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको हो ।

बन्जाराको पक्षमा रहेका केही व्यक्तिले महासंघमाथि दबाब सिर्जना गरेपछि बिहीबार जिल्ला समिति र प्रदेश समितिले विज्ञप्ति जारी गरेको हो । यसअघि बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर जिल्ला समितिले बन्जारा निर्दोष भएको र उनलाई फसाउन खोजिएको भन्दै प्रहरीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । बलात्कार जस्तो जघन्य अपराधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहँदा राजनीतिक दलसँगै दबाबमा आएर महासंघले समेत विज्ञप्ति जारी गर्नु गम्भीर विषय हो । अधिकारकर्मीले जघन्य अपराधमा प्रहरीको अनुसन्धान जारी रहँदा यस किसिमको क्रियाकलापले अपराधलाई प्रोत्साहित गर्ने र पीडितलाई थप पीडा पुग्ने भन्दै आश्चर्य व्यक्त गरिरहेका बेला महासंघले विज्ञप्ति जारी गरेको छ ।

बन्जारा प्रकरणमा नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला समितिका पदाधिकारीले बन्जारा पक्राउ परेलगत्तै प्रहरी अधिकारीलाई भेटेर घटनाको विषयमा बुझेको थियो । अनौपचारिक रुपमा महासंघले बन्जारा प्रकरणलाई हेरिरहेकै बेला सामाजिक सञ्जालमार्फत महासंघप्रति प्रस्तुत भएका प्रश्नकै आधारमा महासंघले बिहीबार विज्ञप्ति जारी गरेको हो ।

महासंघले निष्पक्ष छानविन गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला समितिका अध्यक्ष मणिराज गौतम र नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले छुट्टा छुट्टै विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको छ । दुबै विज्ञप्तिको व्यहोरा भने करिब समान छ । दुवै विज्ञप्तिमा बन्जारा पक्राउ परेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुनी कारबाही र निर्दोषलाई न्याय दिलाउन प्रहरी प्रशासनसमक्ष माग गरिएको छ । घटनाका विषयमा विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणका लागि सरोकारवाला निकायसमक्ष पनि महासंघ मकवानपुर अध्यक्ष गौतमले विज्ञप्तिमार्फत् आग्रह गर्नुभएको छ ।

प्रहरीले अनुसन्धान गरिरहेको मुद्दामा सञ्चार माध्यममा सीसीटिभी फुटेज आएको उल्लेख गर्दै घटनाको दोहोरो छानविन गर्न समेत माग गरिएको छ । विधिको शासनको पैरवी गर्ने महासंघले जघन्य अपराधमा प्रहरी, सरकारी वकिलको कार्यालय हुँदै न्यायालयले न्याय सम्पादन गर्ने अवस्था रहँदा रहँदै दबाबमा आएर विज्ञप्ति जारी गर्नु भविष्यमा संस्थागत सम्बन्धमा समेत वैमनस्यता सिर्जना हुने जोखिम रहन्छ । प्रहरी, प्रशासनको निश्पक्ष कार्यसम्पादनको निगरानी गर्नुपर्ने पत्रकारहरुको साझा संस्थाले आफ्नो सदस्य पक्राउ परेको विषयमा अनौपचारिकरुपमा समन्वय गरिरहेकै बेला दबाबमा आएर विज्ञप्ति जारी गर्नुले विधिको शासनप्रति अविश्वास गरेको ठहरिनेछ । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बन्जारा प्रकरणको सुरुवातदेखि नै घटनाको निश्पक्ष छानविन हुने स्पष्ट पार्दै आउनुभएको छ ।