महिला हिंसा र बलात्कारका घटना वृद्धि हुँदै गए पनि कतिपय घटनामा पीडकले उन्मुक्ति पाउने गरेका छन् । बलात्कारजस्तो जघन्य अपराधका घटनामा समेत पीडकको पक्षपोषण गर्ने तथा पीडितलाई प्रलोभन र त्रास देखाउने गरिएका कारण पीडितले न्याय पाउन सकिरहेका छैनन् । दिनहुँ कतै न कतै बलात्कारका घटना भइरहेका हुन्छन् । मकवानपुर जिल्लामा पनि बलात्कारका घटना उल्लेख्य हुने गरेको छ । बलात्कारका घटनाको उजुरीका आधारमा प्रहरीले छानविन तथा अनुसन्धान गरिरहेकै अवस्थामा र अदालतमा मुद्दा दर्ता गरिसकेपछि पनि विभिन्न दबाब र प्रभावमा पीडक उम्कने गरेका थुप्रै उदाहरण छन् । बलात्कारका घटनाका दोषी पक्राउ पर्दै पर्दैनन्, परिहाले पनि पीडितलाई विभिन्न प्रलोभन तथा डर त्रास देखाएर मिलापत्र गराउने र बयान परिवर्तन गरी मुद्दालाई कमजोर बनाउने गरिएको पाइन्छ । बलात्कारीलाई मृत्युदण्ड नै दिनुपर्ने आवाज उठ्ने गरेको भए पनि घटनाको निष्पक्ष अनुसन्धानमा प्रभाव पारेर पीडक उम्कने अवस्थाको अन्त्य हुन सकेको छैन ।


जबरजस्ती करणीको आरोपमा २ सातादेखि प्रहरी हिरासतमा रहेका एक जना व्यक्तिलाई फसाउन खोजिएको भन्दै राजनीतिक दलले नै प्रहरीको ध्यानाकर्षण गराएपछि अहिले हेटौंडामा चासो र चर्चा बढाएको छ । गत चैत ३० गते एक महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएपछि प्रहरीले सोही दिन आरोपितलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले दुई पटक म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेकै समयमा स्थानीय एक अनलाइनले आरोपित निर्दोष रहेको र फसाउन खोजिएको भन्दै समाचार प्रकाशन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले प्रहरीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रहरीले अनुसन्धान गरिरहेको मुद्दामा राजनीतिक पार्टीले ध्यानाकर्षण गराएको विषयलाई अर्थपूर्णरुपमा हेरिएको छ । मकवानपुर प्रहरी प्रमुखले कसैको दबाव र प्रभावमा परेर मुद्दाको अनुसन्धान प्रभावित नहुने भने पनि यस्ता क्रियाकलापले घटनाको निष्पक्ष छानविन र अनुसन्धानमा प्रभाव पर्नसक्ने तथ्यलाई नकार्न सकिँदैन ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरले ९१ वटा मुद्दाको अनुसन्धान गरिरहेको बताइएको छ । यो मुद्दामा पनि अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको र प्रहरीको अनुसन्धान प्रभावित नहुने भनिए पनि राजनीतिक दलले नै बलात्कारजस्तो जघन्य अपराधमा ध्यानाकर्षणपत्र बुझाएकोमा अधिकारकर्मीले आश्चर्य प्रकट गरेका छन् । सञ्चार माध्यममा आएका समाचार र सीसीटीभी फुटेजका आधारमा आरोपितलाई सुनियोजितरुपमा फसाउन खोजको जनगुनासो आएकाले ध्यानाकर्षण गराएको रास्वपाको भनाइ छ । यो घटनामा आरोपितलाई सुनियोजितरुपमा फसाउन खोजिएकाले फसाइनुहुन्न भनेर घटनाको सत्यतथ्य छानविन र सूक्ष्मरुपमा समयमै अनुसन्धान गर्न माग गर्दै ध्यानाकर्षण गराइएको रास्वपाले जनाएको छ ।


कुनै पनि अभियोगमा निर्दोष व्यक्तिलाई फसाइनु हुँदैन । आपराधिक घटनाको सत्यतथ्य छानविन गर्ने काम प्रहरीको हो । प्रहरीले घटनाको छानविन र अनुसन्धान चाँडै गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनु आवश्यक छ । समाचारमा भनिएका घटनाक्रम र सीसीटीभी फुटेजको बारेमा प्रहरीले पनि सत्यतथ्य जाँच गरेर एउटा टुंगोमा पुग्नैपर्छ । तर, प्रहरीले कानुनबमोजिम आफ्नो अनुसन्धानको काम गरिरहेको अवस्थामा कुनै पनि राजनीतिक दल, व्यक्ति, संस्था वा समूहले अनावश्यक दबाब दिएर अनुसन्धानलाई प्रभावित पार्नु हुँदैन । अधिकांश बलात्कारका घटनाहरु गुपचुप रहने र सार्वजनिक भएका घटनाहरुमा मिलापत्र गराउने, पर्याप्त प्रमाण नपुगेको भन्दै अपराधीले उन्मुक्ति पाउने अवस्थाको अन्त्य हुनुपर्छ । पावर, पैसा तथा अन्य कुनै पनि प्रभावमा परेर अपराधी उम्कनु हुँदैन ।