हेटौंडाः बलात्कार अभियोगमा पक्राउ परेका ईन्द्रप्रसाद बन्जारा (रमेश) लाई ५ दिन प्रहरी हिरासतमै राख्न दोस्रो पटक म्याद थप भएको छ । बिहीबार जिल्ला अदालत मकवानपुरले बन्जारालाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
गत आइतबार मकवानपुर जिल्ला अदालतले बञ्जारालाई ५ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । दोस्रो पटकको अनुमतिअनुसार बन्जारालाई सोमबारसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्नेछ । प्रहरीले घटनाको अनुसन्धानमा आवश्यकताअनुसार पुनः म्याद थप गर्न जिल्ला अदालतमा पेश गर्न सक्नेछ । घटनाबारे अदालतले बयान लिइसकेको र अब मेडिकल रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता कार्कीले बताउनुभयो ।
मकवानपुरमा पछिल्लो पटक जबरजस्तीकरणीका मुद्दा बढेको छ । शनिबार साँझसम्म जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा रहेका ७८ थुनुवामध्ये ८ जना जबरजस्तीकरणीसम्बन्धी मुद्दाका अभियुक्तहरु रहेका छन् ।