हेटौंडा : मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ धेत्रेदमारमा चाईल्ड रेस्क्यु नेपालको आर्थिक सहयोगमा इस्थर बेन्जामिन स्मृति संस्थाको व्यवस्थापनमा निर्माण गरिएको श्री कालाभैरब प्राथमिक विद्यालको नवनिर्मित २ कोठे विद्यालय भवन, बालमैत्रीको खानेपानीको धारा तथा शौचालय एक कार्यक्रम बिच चाईल्ड रेस्क्यु नेपालकी राष्ट्रिय निर्देशक जमुना श्रेष्ठ र बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले संयुक्त रुपमा उद्दघाटन गरि समुदायलालाई हस्तान्तरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजय घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आथित्यता, चाईल्ड रेस्क्यु नेपालकी राष्ट्रिय निर्देशक जमुना श्रेष्ठको बिशेष आथित्यता रहेको थियो । कार्यक्रममा बकैया गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष एबम बकैया गाउँपालिका शिक्षा विकाश साखा संयोजक गोपाल बहादुर न्यासुर , वडा नम्बर १२ वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईं, इस्थर बेन्जामिन स्मृति संस्थाका जिल्ला कार्यक्रम व्यवस्थापक बुद्धबीर लामा, अनुगमन तथा मूल्यांकन प्रमुख सानुकान्छा घलान सोहि संस्थाका सल्लाहकार जगदिस भट्टराई, बिद्यालयका प्रधानाध्यापक चेत बहादुर घले,स्थानीय समाजसेवी,अभिभावक, संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।
बिद्यालयका प्रधानाध्यापक चेत बहादुर घलेले स्वागत मन्तब्य राख्दै यति सुन्दर विद्यालय संस्थाले निर्माण गरेकोले अब स्थानीय सरकारले घेराबारा गर्न आवश्यक बजेट व्यवस्था गर्न अनुरोध गर्नुभयो । उहाँले आफुले गत भदौमा विद्यालयका बाल बालबालिकालाइ बोकेर खोला तारेको स्मरण गर्दै पुलको माग समेत थप गर्नुभएको थियो ।
कार्यक्रममा इस्थर बेन्जामिन स्मृति संस्थाका जिल्ला कार्यक्रम व्यवस्थापक बुद्धबीर लामाले भत्किएको विद्यालयमा कठिन रुपमा पठनपाठन भैरहेको अवस्थाका कारण विद्यालयलाई सहयोग गरिएको बताउनुभयो । बकैया गाउँपलिकामा आफ्नो संस्था शिक्षा साझेदारको रुपमा रहन चाहेकोले पालिकाले शिक्षालाइ प्रमुख बिषयको रुपमा लिन अनुरोध गर्नुभएको थियो । त्यस्तै गाउँपालिका शिक्षा विकाश शाखा संयोजक गोपाल बहादुर न्यासुरले पालिका सहयोगी संस्था संग सहकार्य गर्न तयार रहेको र एक बर्ष भित्र विद्यालय हातामा घेराबारा समेत गरिने बताउनुभयो ।
कार्यक्रमकी बिशेष अतिथि चाईल्ड रेस्क्यु नेपालकी राष्ट्रिय निर्देशक जमुना श्रेष्ठले विद्यालय भवन निर्माण कार्य सम्पन्न भईसकेकोले अब नियमित बालबालिका विद्यालय आउने वातावरण सृजना गर्न जोड दिनुभयो । उहाँले बाल विकास कक्षाको लागि तत्काल सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै विद्यालयका लागि पनि थप सहयोग गर्न सकिनेमा आफु सकारात्मक रहेको बताउनुभयो ।
बकैया गाउँपालिकाका अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि धर्मराज लामिछानेले दुर्गम स्थानमा भवन निर्माण गरेकोमा धन्यवाद ब्यक्त गर्दै पालिका संस्थागत सहकार्य गर्न पूर्ण तयार रहेको बताउनुभयो । उहाँले चालु शैक्षिक सत्रबाट सबै विद्यालयमा कक्षा १ बाट अंग्रेजी माध्याममा पठनपाठन सुरु गर्न लागिएको समेत बताउनुभयो ।