पछिल्ला केही वर्षदेखि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । विगतका वर्षहरुमा विद्यार्थी बढाउन भर्ना अभियान चलाउने गरेको कतिपय सामुदायिक विद्यालयहरु अहिले छानेर विद्यार्थी भर्ना गर्न थालेका छन् । सामुदायिक विद्यालय भन्ने वित्तिकै नाक खुम्च्याउने अभिभावकहरु पनि राम्रो कहलिएका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन भनसुन गर्न थालेका छन् । सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारको विकाससँगै विद्यार्थीको नतिजा अब्बल हुन थालेपछि विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेर क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन चाहेको भन्दै सामुदायिक विद्यालयले पनि विद्यार्थीको प्रवेश परीक्षा लिएर उत्कृष्ट विद्यार्थी भर्ना गर्न सक्षम भएका छन् । अन्य विद्यालयमा अब्बल नतिजा ल्याएका र विद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट देखिएका सिमित विद्यार्थी भर्ना गरेपछि विद्यालयको सिकाई उपलब्धी राम्रो हुने र नतिजा थप सुधार हुने सम्भावना उत्तिकै रहन्छ । यसले यस्ता सामुदायिक विद्यालयलाई आगामी वर्षमा विद्यार्थी जुटाउन सहयोग पुग्नेछ ।
हेटौंडा उपमहानगरपालिकाका केही सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वर्षेनि बढ्दै गएको छ । नगर क्षेत्रका सबैजसो सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रै भए पनि बढी विद्यार्थी संख्या भएका र तुलनात्मक नतिजा राम्रो रहेका विद्यालयमै विद्यार्थीको आकर्षण बढि देखिने गरेको छ । उपमहानगरपालिकाको आधुनिक, भूटनदेवी, सिद्धार्थ, बालज्योति, जनप्रियलगायत सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण अन्यको भन्दा बढी छ । नमुना विद्यालको रुपमा छनौट भएका, ठूलो विद्यालयको रुपमा छनौट भएका, प्राविधिक धारका विषयहरु सञ्चालन भइरहेका, भौतिक र आर्थिक स्रोत सम्पन्न भएका विद्यालयहरुमा विद्यार्थी तथा अभिभावकको आकर्षण हुनु स्वभाविक हो । सामुदायिक विद्यालयहरुले पनि निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न अंग्रेजी माध्यममा पठनपाठन गराइरहेका कारण निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिकमा आउने क्रम बढेको छ । विश्वविद्यालय तहमा विभिन्न प्राविधिक विषय अध्ययनका लागि नेपाल सरकारबाट छात्रवृत्तिलगायत सुविधा पाउन सामुदायिक विद्यालयमा पढेका विद्यार्थी हुनुपर्ने व्यवस्थाका कारण पनि विद्यार्थी र अभिभावक सामुदायिक विद्यालयप्रति आकर्षित भएका हुन् ।
सामुदायिक विद्यालयको नतिजामा सुधार, शैक्षिक गुणस्तरमा सुधार, दक्ष शिक्षकहरुको लागनशिलता तथा मिहिनेतले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको मान्न सकिन्छ । प्रतिस्पर्धा र समावेशी वातावरण, आर्थिक भार कम, छात्रवृत्तिको व्यवस्थाका कारण स्वभाविकरुपमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको शिक्षकहरुको भनाई छ । स्थानीय सरकारको चासो, दिवा खाजाको व्यवस्था, मन्टेश्वरीको व्यवस्था, शैक्षिक गुणस्तरमा सुधारले पनि सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको हुनसक्छ । यस्तै, सुविधा सम्पन्न भौतिक संरचना, प्राविधिक विषय, छात्रवृत्तिको व्यवस्था र आर्थिक मन्दीले पनि न्यून आर्थिक अवस्थाका अभिभावक निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन चाहिरहेका छन् ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नु सकारात्मक भए पनि यस्ता विद्यालयमा कक्षा दोहोर्याउने र बिचैमा पढाई छाड्ने विद्यार्थीको संख्या उल्लेख्य छ । सामुदायिक विद्यालयमा भर्ना भएका सबै विद्यार्थीको सिकाई स्तर वृद्धि र पढाइमा निरन्तरताका लागि विद्यालयहरुले विशेष ध्यान दिनुपर्ने देखिन्छ । सामुदायिक विद्यालयबाट शिक्षा पूरा गरेर विश्वविद्यालय तहमा प्रवेश गर्ने विद्यार्थी सजिलै बिक्ने पनि हुनुपर्छ । विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्रसँगै उनीहरुले विद्यालय तहमा आर्जन गर्नुपर्ने सबै प्रकारका ज्ञान, सीप र क्षमताको विकासमा सामुदायिक विद्यालयहरुले जोड दिनु आवश्यक छ । शैक्षिक सत्रको सुरुवातमा विद्यालय भर्ना गराउनमात्र नभई भर्ना भएका विद्यार्थीलाई शैक्षिक सत्रको अन्तिममा लिइने वार्षिक परीक्षासम्म टिकाउन र उनीहरुको शिक्षामा निरन्तरता कायम गर्न सकेमा सामुदायिक विद्यालयहरुको सफलता देखिनेछ ।