नेकपा एकीकृत समाजवादी (एस)का केन्द्रीय महासचिव घनश्याम भुसाल ।

हेटौंडाः केपी ओली नैतिकता, लाज, घिन केहि पनि नभएको व्यक्ति भएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस)का केन्द्रीय महासचिव घनश्याम भुसालले आरोप लागाउनुभएको छ । शुक्रबार नेकपा एसको ६४ औं पार्टी स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले पटक–पटक संसद विघटन गरेकोले भुसालले आरोप लगाउनुभएको हो ।

‘एमाले मुखमा पुँजीवादको बिरोध गर्ने, भ्रष्टाचारको बिरोध गर्ने तर भित्रभित्र आफैं भ्रष्टाचार गर्ने गरेको छ, महासचिव भुसालले भन्नुभयो– एमालेको झुट र भुलभलैयामा लाग्न हुँदैन ।’ केपी ओली नेकपा एसलाई सिध्याउन लागेको भुसालले दावी गर्नुभयो । हिजो चारपाटा मोडेर एमालेले निकालेकाहरु फेरि एमालेमा जान लागेको भन्दै उहाँले केही मानिसहरु जानु ठूलो कुरा नभएको बताउनुभयो ।

गठबन्धन गरेता पनि संघीय सरकारदेखि स्थानीय सरकारसम्म सानो पार्टी भएकाले काम गर्न सहजता नभएको गुनासो पार्टीभित्र आएको उहाँले जानकारी दिनुभयो । नेपाली कांग्रेस कुनै प्रतिबद्धता नभएको पार्टी रहेको आरोप लागाउँदै महासचिव भुसालले कांग्रेस हाम्रै पिठ्युँमा चढेर सत्तामा गएको भए पनि अहिले सानो पार्टी भनेर नगन्ने गरेको उहाँको भनाई छ ।

पार्टीका नेता कार्यकर्ताहरु माक्र्सवादी भएकाले पार्टीको भविष्य छैन भन्ने लाग्छ भने छाड्न सक्ने हुनुपर्ने र अरुको होहल्लामा नलागी पार्टी बचाउन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टी सानो भएकाले बाधा अड्चन आउनसक्ने तर जति संघर्ष भए पनि पार्टी अगाडि बढाउन नेता कार्यकर्ता लाग्नुपर्ने उहाँको भनाई छ । नयाँ चरणमा दुःख भएता पनि भोलिका दिनमा सफलता प्राप्त गर्नका लागि अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रिय राजनीतिमा २००७ सालबाट अस्थिरता सुरु भएको उहाँले बताउनुभयो । विगतका दिनमा राजाले देशमा शासन गर्दा पनि कुनै विकास नभएको बताउँदै पहिले खुलेको उद्योग कलकारखानाहरु, बाटोघाटो निर्माणको काम विदेशी लगानीमा भएको उहाँको भनाई रहेको छ । विगतका दिनमा जनतालाई एमाले कांग्रेसले रोजगारी दिने भनेता पनि दिन नसकेको र पछिल्लो समय कांग्रेसले कलकारखाना बिक्री गरेकाले जनाताको भरोसा राजनीतिक दलबाट हटेको उहाँको दावी छ ।

विगतका दिनमा सामन्ती धेरै भएको, ४० प्रतिशत जमिन विर्ता रहेकाले कसलाई के बनाउने भन्ने जमिन्दारको हातमा रहेको उहाँले बताउनुभयो । अहिलेको समयमा ३ करोडको संख्यामा नेपालीहरु रहेकोमा ३५ लाख जनसंख्याले मात्र संगठित रोजगारी पाएको बताउँदै पछिल्लो समय जुनै राजनैतिक दल आएपनि रोजगारी सिर्जना गर्न सक्दैन भने राजनैतिक दल टिक्न नसक्ने उहाँको भनाई छ ।

कार्यक्रलाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य विरोध खतिवडाले ओलीले गठबन्धन गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको र अहिले अर्को पार्टीसँग गठबन्धन गरेपछि सरकारको काम राम्रो नभएको भनेर विरोध गरेको बताउनुभयो । एमालेले नेकपा एसलाई सत्तालिप्सा भनेर दोष लगाएको तर अहिले एमाले आफैं सत्तालिप्सा भएको उहाँले आरोप लगाउनुभयो । एमाले थोरै काम गर्ने तर धैरै बोल्ने पार्टी भएको उहाँको भनाई छ ।

थाहा नगरपालिकामा ३ सय विद्यार्थी पढ्ने विद्यालयको निर्माणको काम आफैंले सुरुवात गरेको उहाँले बताउनुभयो । एस पार्टीका नेता कार्यकर्ताहरुले को सरकारमा छ, त्यसमा ध्यान नदिई नकारात्मक काम गरेको पाए बिरोध गर्न आवश्यक रहेको धारणा राख्नुभयो । विकास गर्दा विनाश हुने भएकाले कानुनअनुसार काम गरेर अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाई छ ।