हेटौंडाः ट्रेड युनियन राष्ट्रिय सञ्जालले निजामती ऐनसम्बन्धमा प्रधामन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ । बागमती प्रदेशका प्रमुख सचिवमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । बुधबार प्रमुख सचिव मुकुन्दप्रसाद निरौलामार्फत् सञ्जालका प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
सरकारले निजामती ऐन जारी गर्न लागेको र निजामती कर्मचारीसँग कुनै समन्वय नगरेकाले समन्वयात्मक ढंगले अगाडि बढ्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा समग्र कर्मचारीको साझा हित र निजामती प्रशासनको मार्गदर्शनको रुपमा रहेको ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षहरुको अर्थपूर्ण सहभागिता आवश्यक रहेकाले सम्बन्धित पक्षहरुसँग सघन छलफल गर्न माग गरिएको छ ।
सरकारले सरोकारवाला पक्षहरुको सहमतिमा निजामती प्रशासनलाई संघीय शासनअनुरुपको ढाँचामा व्यवस्थित गरी जनताको सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी, पारदर्शी एवम् नागरिकमैत्री गराउने कार्यमा सहयोग पुग्ने गरी ऐन जारी गर्नुपर्ने माग गरिएको छ । अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिका लागि पठाइएको संघीय निजामती सेवा विधेयकको मस्यौदा बैशाख १८ गतेभित्र सार्वजनिक गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश अध्यक्ष बरुणकुमार साह, नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश कार्यसमितिका अध्यक्ष श्रीराम लम्साल, नेपाल निजामती कर्मचारी युनियन बागमती प्रदेश कार्यसमितिका उपाध्यक्ष राजु अर्याललगायतको उपस्थिति थियो ।