Home मुख्य समाचार बिदामा विद्यार्थीको हस्ताक्षर सुधार्ने तालिम

बिदामा विद्यार्थीको हस्ताक्षर सुधार्ने तालिम

हस्ताक्षर सुधार तालिममा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः यतिबेला अधिकांश विद्यालय सुनसान छन् । शैक्षिक सत्रको सुरुवात भएकोले केही विद्यालय विद्यार्थी भर्ना अभियानमा व्यस्त छन् । हेटौंडा–१८, फुर्केचौरस्थित गोरक्षनाथ माविले भने विद्यार्थीको हस्ताक्षर सुधारका लागि तालिम सञ्चालन गरिरहेको छ ।

४ कक्षादेखि १० कक्षासम्म अध्ययनरत २ सय विद्यार्थीलाई लक्षित गरी आइतबारदेखि हस्ताक्षर सुधार तालिमको आयोजना गरिएको प्रधानाध्यापक होमबहादुर नेपालीले जानकारी दिनुभएको छ । बिहिबारसम्म सञ्चालन हुने तालिममा विद्यालयले खाजाको समेत व्यवस्था गरेको छ । बिदाको समयमा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको र हस्ताक्षर सुधारका लागि विद्यार्थी प्रेरित भएको प्रधानाध्यापक नेपालीको भनाइ छ ।

हस्ताक्षर सुधारसम्बन्धी तालिममा काठमाडौंका समीर महर्जनले सहजीकरण गरिरहनुभएको छ । बिहीबारसम्म सञ्चालन हुने तालिममा एउटा समूहमा ३५ देखि ४० जना विद्यार्थी राखेर ४५ मिनेट सैद्धान्तिक ज्ञान र ४५ मिनेट अभ्यास गराइएको छ । बागमती प्रदेश सरकारले गोरक्षनाथ माविलाई विद्यार्थी केन्द्रित सुधार अनुदानवापत १० लाख रुपैयाँ उपलब्ध गराएको छ । सोही बजेटले विद्यालयमा विविध क्रियाकलाप भइरहेको छ । विद्यालयले शिक्षकका लागि पनि सूचना प्रविधिसम्बन्धी तालिम गरिरहेको छ ।

Exit mobile version