हेटौंडाः भौतिक संरचना, मानवीय स्वरुपलाई हेर्दा समाज विकसित हुँदै गएको जस्तो देखिन्छ । तर, मानवीय व्यवहारहरुलाई नियाल्ने हो भने विकसित समाजले विवेक भने गुमाउँदै गएको आभाष हुन्छ । शनिबार मकवानपुरको बकैया गाउँपालिका–६, सुधामा अपाङ्गता भएकी महिलालाई जबर्जस्ती गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् ।
चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत मसान्तसम्ममा ३२ वटा जबर्जस्ती करणीका मुद्दा जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको छ । जसमध्ये चैत महिनामा मात्रै ९ वटा घटना भएको प्रहरीले जनाएको छ । चैत महिनामा दर्ता भएका ९ वटा मुद्दा मध्ये ३, ६ र ७ वर्षका बालिका पीडित भएको घटना अझ बढी गम्भीर र चिन्ताजनक छ । जबर्जस्ती करणी जस्तो जघन्य अपराधमा पनि राजनीतिक संरक्षण र पीडकलाई बचाउ गर्दै प्रहरी प्रशासनलाई प्रभावित गर्ने, दबाब दिन खोज्ने प्रवृत्तिले थप निराशा बढाउने जोखिम छ ।
शनिबार दिउँसो १ बजेको समयमा ७७ वर्षीय दुध बहादुर बम्जनले ४० वर्षीया अपाङ्ग महिलालाई जबर्जस्ती करणी गरेको भनी प्रहरीमा जानकारी प्राप्त भएलगत्तै बम्जनलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । महिलाको घरमै पुगेर बम्जनले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीले बम्जनलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गराई प्रहरी चौकी हातिसुडेमा राखेर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर हिरासतमै राखी अनुसन्धान थालेको जनाएको छ ।
यस्तै महिलामाथि बलात्कार गरेको अभियोगमा बिहीबार पक्राउ परेका ईन्द्रप्रसाद बन्जारा (रमेश) लाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । आइतबार प्रहरीले बन्जारालाई अदालतमा पेश गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बन्जारालाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिनुभयो । बन्जाराविरुद्ध प्रहरीले जबर्जस्ती करणीको अभियोगमा मुद्दा दर्ता गरेको छ । प्रहरीले बिहीबार पक्राउ गरेका बन्जारा शुक्रबार स्वास्थ्यमा समस्या आएको भन्दै हेटौंडा अस्पतालको क्याबिनमा बसेका थिए । आइतबार अस्पतालले डिस्चार्ज गरिदिए पनि पुनः बिरामी भएको बहाना बनाएर बन्जारा अस्पतालकै क्याबिनमा बसेका छन् ।
हेटौंडा अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटाका अनुसार आइतबार बिहान राउण्डमा जाने चिकित्सकले स्वास्थ्य अवस्था सामान्य रहेको भनी डिस्चार्ज लेखिदिएको छ । राजनीतिक दलको दबावमा बन्जारा हिरासत कक्षमा नगई अस्पतालकै सुविधामा बस्ने बहाना गरिरहेको अस्पताल स्रोतले जनाएको छ । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले भने चिकित्सकले डिस्चार्ज लेखिदिएपछि कसैको दबाबमा नपरी प्रहरीले हिरासत कक्षमा ल्याएर राख्ने बताउनुभए पनि बन्जारा अस्पतालकै सुविधामा बसेका छन् ।
माइती नेपाल मकवानपुरकी माया लामा चैत महिनामा भएका जबर्जस्तीका घटना देखेर त्रसित हुनुहुन्छ । यत्तिधेरै संख्यामा जबर्जस्ती करणीका घटना हुनु चिन्ताको विषय भएको उल्लेख गर्नुहुँदै पीडितको संरक्षण र दोषीलाई कारवाहीको दायरामा ल्याउन कठिन भएको लामाको भनाइ छ । मुद्दाको प्रक्रिया अगाडि बढ्दै जाँदा पीडक पक्षबाट पीडित पक्ष प्रभावित भई दोषी उम्कने र पीडित थप पीडित हुने जोखिम बढ्ने लामा बताउनुहुन्छ ।