Home मुख्य समाचार सामुदायिक विद्यालयको सुधारः मोवाइलमै आफ्ना बाबुनानीको कक्षा अवलोकन गर्न सकिने

सामुदायिक विद्यालयको सुधारः मोवाइलमै आफ्ना बाबुनानीको कक्षा अवलोकन गर्न सकिने

श्रमिक माविको पूर्वप्राथमिक तहको कक्षामा जडान गरिएको सीसी क्यामराको प्रत्यक्ष दृश्य मोवाइलमा ।

हेटौंडाः सामुदायिक विद्यालयको आलोचना चरम हुने गरेको छ । पछिल्ला दुई दशक सामुदायिक विद्यालयको आमरुपमा आलोचना भइरहँदा पनि सुधारको संकेत आमरुपमा देखिन्न । तर, केही नगन्य सुधार भने पक्कै भइरहेका छन् । यस्तै मध्येको एक हो हेटौंडा–४, कर्रास्थित श्रमिक मावि । श्रमिक माविले पछिल्लो समय विद्यालयको समग्र सुधारको प्रयास गरिरहेको छ ।

विद्यालयप्रति अभिभावकको विश्वास बढाउन श्रमिक माविले पूर्वप्राथमिक तहको कक्षामा सीसी क्यामरा जडान गरेको छ । सीसी क्यामराले कैद गर्ने दृश्य विद्यालयका शिक्षकले मात्रै नभई अभिभावकले समेत घर, कार्यालय वा आफ्नो अनुकुलको स्थानमा बसेर हेर्न सक्ने व्यवस्था मिलाइएको छ । पूर्वविद्यार्थीको सहयोगमा केही समयअघि सीसी क्यामरा जडान गरिएको हो । पूर्वप्राथमिक कक्षामा जडान गरिएको सीसी क्यामरा परीक्षणको रुपमा गत शैक्षिकसत्रको अन्तिममा अभिभावकलाई पहूँच दिइएको छ ।

श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल सीसी क्यामराको पहूँच अभिभावकलाई दिँदा विद्यालयप्रति अभिभावकको विश्वास बढ्ने र सकारात्मक धारणा विकसित हुने अपेक्षा गरिएको बताउनुहुन्छ । विद्यालयले पूर्वप्राथमिक कक्षालाई बालमैत्री र प्रभावकारी सिकाईका लागि सहयोगी हुने गरी तयार गरिएको उल्लेख गर्नुहुँदै प्रधानाध्यापक दाहाल भन्नुहुन्छ, “अभिभावकहरु निजी विद्यालयमा जस्तै सुविधा, सुरक्षा, स्याहार, पठनपाठन भए नभएको भनी निक्कै चासो, जिज्ञासा राख्नुहुन्छ । हामीले पनि सक्दो प्रयास गर्ने हो । पूर्वविद्यार्थीले सहयोग गरेपछि सीसी क्यामरा जडान गरेर अभिभावकलाई नै सहज पहूँच दिएका छौं ।” गत शैक्षिक सत्रमा २ सय ५० विद्यार्थीबाट ४ सय २७ विद्यार्थी भर्ना गराउन सफल श्रमिक मावि शैक्षिक सत्र २०८० मा विद्यार्थी संख्या ६ सय पु¥याउने योजनामा छ ।

Exit mobile version