हेटौंडाः महिलामाथि बलात्कार गरेको अभियोगमा बिहीबार पक्राउ परेका ईन्द्रप्रसाद बन्जारा (रमेश) लाई प्रहरीले आज जिल्ला अदालतमा पेश गर्दैछ । पीडित महिलाको उजुरीअनुसार आवश्यक अनुसन्धानका लागि प्रहरीले अदालतबाट हिरासतमा राख्न म्याद लिने मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिनुभएको छ ।
यता स्वास्थ्यमा समस्या भएको भन्दै बन्जारा शुक्रबार हेटौंडा अस्पताल भर्ना भएका थिए । अस्पतालले आइतबार बिहान डिस्चार्ज गरिदिएको छ । अस्पतालले डिस्चार्ज गरिदिए पनि पुनः हिरासत कक्षमा फर्कन बन्जाराले आनाकानी गरिरहेको अस्पताल स्रोतले जनाएको छ । हेटौंडा अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटाका अनुसार आइतबार बिहान राउण्डमा जाने चिकित्सकले स्वास्थ्य अवस्था सामान्य रहेको भनी डिस्चार्ज लेखिदिएको छ ।
स्रोतका अनुसार राजनीतिक दलको दबावमा बन्जारा हिरासत कक्षमा नगई अस्पतालकै सुविधामा बस्ने मनस्थितिमा छ । मकवानपुर प्रहरी प्रमुख बामदेव गौतमले भने चिकित्सकले डिस्चार्ज लेखिदिएपछि कसैको दबाबमा नपरी प्रहरीले हिरासत कक्षमा ल्याएर राख्ने स्पष्ट पार्नुभयो ।
