हेटौंडाः शनिबार हेटौंडाको दुई स्थानमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । हेटौंडाको चौघडा र पदमपोखरीमा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ ।
हेटौंडा–१२, पदमपोखरीमा २९ जनाले रक्तदान गरेका छन् । महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ५ महिला र २४ पुरुषले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा वडा न. १३ का वडा अध्यक्ष पेम्बा लामाको आतिथ्य रहेको सापकोटाले जानकारी दिनुभयो ।
यसैगरी हेटौंडा–६, चौघडास्थित चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् । सहकारीको १५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ९ महिला र १५ पुरुषले रक्तदान गरेका छन् ।
