Home मुख्य समाचार एमालेको मिसन ग्रासरुट नेता र कार्यकर्तालाई जोड्ने अभियानः महासचिव पोखरेल

एमालेको मिसन ग्रासरुट नेता र कार्यकर्तालाई जोड्ने अभियानः महासचिव पोखरेल

कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका महासचिव शंकर पोखरेल ।

हेटौंडाः नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन ग्रासरुट नेता र कार्यकर्ता जोड्ने अभियान भएको बताउनुभएको छ । शनिबार हेटौंडामा एमालेको मिसन ग्रासरुट अन्तर्गत प्रशिक्षणमूलक कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले मिसन ग्रासरुट नेता र कार्यकर्तालाई जोड्ने अभियान भएको बताउनुभएको हो ।

मिसन ग्रासरुट अभियान पार्टीको वास्तविक अवस्था कस्तो रहेको छ भनी चित्रण गरिने अभियान रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीमा संघर्षको समयमा १२ सय सङ्गठित सदस्यहरु हुँदा पुरै देशमा तरंग पैदा गर्न सकिने अवस्था थियो तर अहिले १० लाख भन्दा बढी पार्टी सदस्यहरु हुँदा पनि निर्वाचनमा अपेक्षा अनुरुप नतिजा हासिल गर्न सकेनौं त्यो हाम्रो असफलता हो तसर्थ यो अभियान नेता र कार्यकर्तालाई जोड्ने अभियान तथा पार्टीलाई सुदृढ गराउँदै लैजाने अभियान हो ।” पार्टीले चुनावको समयमा यस क्षेत्रबाट कमल थापालाई उम्मेदवार बनाउनुको कारण देशमा नाकाबन्दीको बेलामा पार्टी अध्यक्षलाई साथ दिनु र उहाँले अब नेपालमा पुनः राजतन्त्र व्युँतिन सक्दैन भन्दै गणतन्त्रको पक्षमा आउनुले पार्टीले सहयोग गरेको उहाँको भनाइ रहेको छ ।

देशमा सरकारको नेतृत्व नेपाली काँग्रेसको हातमा पुग्दा समाज उदार पुँजीवादतर्फ जान्छ भने नेतृत्व एमालेको हातमा जाँदा जनताको बहुदलीय जनवाद मार्फत समाजवादतर्फ उन्मुख हुनेमा उहाँले जोड दिनुभयो । नेपाली समाजलाई बदल्नका लागि नेकपा एमालेले जित्न आवश्यक छ भन्ने आम जनतालाई बुझाउन जरुरी रहेको पोखरेलको भनाइ रहेको छ । अहिले मुलुकमा जस्तो प्रकारको आर्थिक संकट देखिँदै छ, यसको कारण नेकपा एमाले सरकारबाट हट्नु भएको उहाँले दावी गर्नुभयो ।

कांग्रेस र नेकपा माओवादी केन्द्रको नीतिको कारण देशमा संकट देखापरेको उहाँले जीकिर गर्नुभयो । देशलाई बिकासको गतिमा अघि बढाउन स्थिर सरकारको आवश्यकता रहेको उल्लेख गर्नुहुँदै हिजोको दिनमा अरु माथि प्रश्न गर्न पाउनु पर्छ भन्नेहरु आज आफू माथि नै प्रश्न आउँदा भाग्न नपाइने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले जुन नतिजा प्राप्त ग¥यो त्यो नतिजा प्राप्त गर्नुमा सहरी क्षेत्रमा जनताको बदलिएको मनलाई राजनीतिक दलहरूले बुझ्न नसकेको उहाँले बताउनुभयो ।

देशमा बलियो राजनीतिक शक्ति आवश्यक रहेकोले मिसन ग्रासरुट अभियान संचालन गरेको पोखरेलको भनाइ छ । महासचिव पोखरेलले चुनावको समयमा काम नलाग्ने एमाले एमाले हुन नसक्ने बताउनुहुँदै घरमा सुतेर बस्नेलाई पार्टीको नेताको सम्मान दिन नसकिने बताउनुभयो । हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा भएको कार्यक्रममा महानगरभित्रका नेता, कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

Exit mobile version