लघुवित्त वित्तीय संस्थाविरुद्ध हेटौंडाको बुद्धचोकमा प्रदर्शन गर्दै ।

हेटौंडाः लघुवित्त वित्तीय संस्थाहरुको विरुद्धको संघर्षका लागि गठन भएको संघर्ष समिति मकवानपुरले विरोध प्रदर्शन गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना कार्यक्रममा उपस्थितहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । गत चैत १५ गतेबाट सुरु गरिएको शान्तिपूर्ण धर्नामा बसेका आन्दोलनकारीले सोमबार बिरोध र्याली प्रदर्शन गरेका हुन् । बिरोध र्यालीमा बालबालिका बोकेका महिला, वृद्धवृद्धाहरुको समेत उपस्थिति थियो ।

संघर्ष समितिले हातमा प्लेकार्ड बोकेर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा नवसामन्तीको रुपमा स्थापित लघुवित्त संस्था खारेज गर, धितो लिलामी बन्द गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, समाजवादी अर्थतन्त्रको विकास गर, आत्महत्या गर्नुपर्ने बाध्यताको बन्द गर, मिटरव्याजी अन्त्य गर, लघुवित्त संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गरलगायत नाराबाजी गरेको थिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरको गेटबाट सुरु भएको र्याली मानसचोक, संगमचोक, कान्तिराजपथ हुँदै बुद्धचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै संघर्ष समिति मकवानपुरका अध्यक्ष सूर्य राईले आफ्ना समस्या तथा गुनासो सुनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुर अगाडि धर्ना बस्दै आएको बताउनुभयो । यसरी धर्ना बस्दा पनि नेपाल सरकार कान थुनेर, आँखा बन्द गरेर बसेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो । लघुवित्त संस्थाहरुको अत्याचारले गर्दा महिला दिदीबहिनीहरु सडकमा आउन बाध्य भएको उहाँको भनाइ छ ।

केन्द्रीय संघर्ष समितिले काठमाडौंमा रिले अनसन बसिरहेको उहाँले जानकारी दिनुभयो । नेपाल सरकारले माग सम्बोधन नगरे हजारौंको संख्यामा लघुवित्त पीडितहरु सडकमा उत्रिएर संघर्ष गर्न बाध्य हुने उहाँले चेतावनी दिनुभयो । लघुवित्त संस्थाहरुले गाउँको सोझा दिदीबहिनीहरुलाई प्रतिस्पर्धामा ऋणको भारी बोकाएर अहिले आर्थिक मन्दीमा मर्न बाध्य बनाएको उहाँले बताउनुभयो ।