हेटौंडाः तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा ३ दिवसीय समाचार लेखन तथा वाचन तालिम सोमबारदेखि सुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा मकवानपुरका पत्रकारहरुका लागि तालिम आयोजना गरिएको हो ।
तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा तालिम सुरु भएको हो । तालिममा मन्तव्य राख्नुहुँदै मेयर लामाले विभिन्न माध्यमबाट आएको टीकाटिप्पणीले उपमहानगरलाई व्यवस्थापन गर्न सजिलो भएको बताउनुभयो । पत्रकारिता पेशाले इज्जत, मान प्रतिष्ठसँगै समाज रुपान्तरणका लागि अहम् भूमिका खेल्ने उहाँले बताउनुभयो ।
तालिमले नयाँ पुस्तालाई पत्रकारिता पेशामा आउन सहयोग पुग्ने उहाँको भनाई छ ।
तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष आदर्श थोकरले काम चलाउका रुपमा पत्रकारिता गरिरहेको बताउनुभयो । कतिपय सबल र सक्षम पत्रकारहरु रहेकाले पत्रकारिता किन गर्ने भन्ने कुरा प्रष्ट हुनुपर्ने उहाँको भनाई छ ।
तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङले भाषा, कला, पेशाका आधारमा नै तामाङ पत्रकार पछि पर्नुलाई चुनौतीको रुपमा लिन जरुरी रहेको बताउनुभयो । पछिल्लो समय नयाँ पुस्ता पत्रकारितामा जोडिए पनि लामो समय टिक्न नसकेको अवस्थामा यस्ता तालिमले सहयोग पुग्ने उहाँको भनाई छ ।
प्रेस सेन्टर मकवानपुरका उपाध्यक्ष राजकुमार केसीले तामाङ समुदायको समस्यालाई उजागर गर्न तालिमले लेखाइ र बोलाइमा अझ प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । नेपाल जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर राईले पछिल्लो समय पत्रकारिता पेशामा नयाँ पुस्ता टिक्न नसकेको अवस्थामा समाचार लेखन र वाचनमा भन्दा कसरी टिकाउने भन्ने विषयको तालिम जरुरी रहेको बताउनुभयो ।
नेपाल तामाङ घेदुङ संघ मकवानपुरका सचिव किरणमान बलले आवाजविहीनहरुको आवाजलाई प्रतिनिधित्व गर्न सके जीवनस्तरमा परिवर्तन आउने बताउनुभयो । झाँक्री र लामा हराउँदै गएको अवस्थामा तामाङ समुदायको भाषा, कला र संस्कृतिको संरक्षणका लागि मिडियाले बढावा दिनुपर्ने उहाँले बताउनुभयो । नेपाल भाषा र तामाङ भाषालाई प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाउन पहल भइरहनु सुखद् विषय रहेको बताउनुभयो । पालिकाहरुले पनि नयाँ पुस्तालाई पत्रकारितामा ल्याउन तालिम दिनुपर्ने र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष नवराज वाइबाले पत्रकारितामा टिक्नु गम्भीर विषय रहेको बताउनुभयो । सिक्ने, बिक्ने र टिक्ने प्राविधिसँग घुलमिल हुँदै अभ्यास गरेर अघि बढ्न जोड दिनुपर्ने उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले पत्रकारिताको परिचय, पत्रकारको भूमिका, समाचार लेखन र वाचनका विषयमा प्रशिक्षण दिनुभयो । उहाँले मकवानपुरमा पत्रकारिता गर्ने दक्ष पत्रकार कम रहेको बताउनुभयो । उल्लेख संख्यामा पत्रकार रहेको भए पनि अधिकांश पत्रकारले परिचय खोज्ने तर काम गर्न नचाहने परिपाटी रहेको उहाँको भनाई छ ।