हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल र आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेशको सञ्चारग्राम निर्माणस्थल अनुगमन गर्नुभएको छ । आइतबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यालय परिसरमा पुगेर मन्त्रीहरुले निर्माणस्थल अनुगमन गर्नुभएको हो ।
अनुगमनको क्रममा मुख्यमन्त्री जमकट्टेलले भवन निर्माण कार्य तत्काल सुरु गर्न निर्देशन दिनुभयो । भवन निर्माणका लागि आन्तरिक मामिला मन्त्रालयबाट १ करोड बजेट विनियोजन भएको नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले जानकारी दिनुभएको छ । भवन ३ तले निर्माण हुनेछ । तत्कालीन जल उत्पादन नियन्त्रण कार्यालयको स्वामित्वमा रहेको ८ कठ्ठा ऐलानी जग्गामा भवन निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले महासंघलाई उपलब्ध गराएको छ । भवन १ वर्ष भित्र निर्माण सम्पन्न हुने महासचिव मगरले बताउनुभएको छ ।











