हेटौंडाः हेटौंडा–५, पिप्लेमा रहेको जेनिथ ईन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कूलले सीटीईभीटी कार्यक्रमअन्तर्गत् ३ महिने तालिम सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार स्कूलका प्रधानाध्यापक श्रीबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत् सीटीईभीटीअन्तर्गत् ३ वटा तालिम सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो ।
तह एकको व्यावसायिक खाना बनाउने (कुकिङ), हेरचाहकर्ता (केयर गिभर) र मन्टेश्वरी तालिम आउँदो शैक्षिक सत्र–२०८० सालदेखि सुरुवात गरिने उहाँले बताउनुभयो । आधारभूत तह (कक्षा–८) उत्तीर्ण गरेकाले तह एकको व्यावसायिक खाना बनाउने र हेरचाहकर्ता तालिममा सहभागी हुन पाउनेछन् । तालिम ३ महिना अवधि (७९२ घण्टा)को हुने उहाँले जानकारी दिनुभयो ।
यस्तै, एसईई (कक्षा–१०) उत्तीर्ण गरेका विद्यार्थीले ३ महिने मन्टेश्वरी तालिम (३९० घण्टा)को लिन पाउने कार्कीले बताउनुभयो । उक्त विषयगत तालिममा ३०÷३० जनाको कोटा रहेको उहाँको भनाइ छ । तालिम सशुल्क हुने बताइएको छ । प्रधानाध्यापक कार्कीका अनुसार हेटौंडा सिटी कलेजले वाणिज्य संकाय र विज्ञान संकायको अध्यापन गराउँदै आइरहेको छ । यस्तै, यस वर्षदेखि अंग्रेजी माध्यममा कानुन संकायमा समेत अध्यापन गराइरहेको उहाँले बताउनुभयो ।
आउँदो शैक्षिक सत्रमा स्वास्थ्यको ल्याब र एचए विषय अध्यापनको तयारी रहेको उहाँको भनाइ छ । उपमहानगरको शैक्षिक हव कार्यक्रमलाई टेवा पुर्याउने उद्देश्यले जेनिथ स्कूलले पनि मागअनुसार उक्त तालिम सञ्चालनमा गर्न लागेको उहाँले जानकारी दिनुभयो । दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन तालिमले भूमिका खेल्ने उहाँले बताउनुभयो । जेनिथ स्कूलका संस्थापक रमिता पाण्डेको सभाध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।