हेटौंडाः मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना र कार्यान्वयनको अवस्था विषयकमा अन्तरक्रिया कार्यक्रम शुक्रबार हेटौंडामा भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त आयोजनामा अन्तरक्रिया भएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा भएको छलफलमा इन्सेक बागमती प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीले मानव अधिकारको पाँचौ राष्ट्रिय कार्ययोजनाका विषयमा जानकारी गराउनुभएको थियो । अन्तरक्रियामा सहभागीले मानवअधिकारको विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
केही अधिकारवादीले पीडकबाट आफूहरुविरुद्ध नै मुद्दा दायर गरेको सुनाउनु भयो । मानवअधिकारलाई स्थापित गर्न सरकार जिम्मेवार हुन नसकेको र कतिपय अवस्थामा युरोपेली मुलुकको मापदण्डमा आधारित मानवअधिकारको सुनिश्चितता सम्भव नहुने सहभागीले बताएका थिए ।