विद्यालयकै प्रथम विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै वडा अध्यक्ष सुनिल मोक्तान र शिक्षा अधिकृत सुनिता महर्जन ।

हेटौंडाः हेटौंडा–१५, रातोमाटेस्थित जनजागृति माध्यमिक विद्यालयको २३ औं अभिभावक भेला बिहीबार भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर मोक्तानको अध्यक्षता तथा वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा अभिभावक भेलाको उद्घाटन कार्यक्रम भएको हो । अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिमा ४ जना अभिभावक सर्वसम्मत चयन गरेको छ ।

व्यवस्थापन समितिको सदस्यमा मीना लामा, फूलमाया लामा, सम्झना पाख्रिन र सूर्य बहादुर सिङ्तान चयन हुनुभएको छ । यस्तै शिक्षक प्रतिनिधिमा मानकुमार दाहाललाई चयन गरेको छ । अब समाजसेवी, शिक्षासेवी, सहयोगी मध्येबाट २ जना मनोनित गर्नुका साथै वडा चयन गरेपछि व्यवस्थापन समितिको अध्यक्ष चयन गरिनेछ ।

विद्यालयको उत्कृष्ट शिक्षकको रुपमा लक्ष्मीकुमारी गौतमलाई सम्मान गर्नुहुँदै वडा अध्यक्ष सुनिल मोक्तान ।

प्राविधिक विषय अटो मेकानिकल विषय समेत अध्यापन हुने विद्यालयले अभिभावक भेलाकै अवसरमा चालु शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षाको नतीजा पनि सार्वजनिक गरेको छ । नतीजा सार्वजनिक गर्दै कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी, अनुशासित विद्यार्थी, नियमित विद्यालय आउने विद्यार्थी, सरसफाई कायम गर्ने विद्यार्थीलाई पुरस्कृत गरेको छ । जनजागृति माविमा शैक्षिक सत्र २०७९ मा भर्ना भएका ३७८ जना विद्यार्थी मध्ये वार्षिक परीक्षामा २ सय ९९ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । शैक्षिक सत्रको सुरुवातमा भर्ना भएका करिब ९ प्रतिशत विद्यार्थी वार्षिक परीक्षामा अनुपस्थित भएका छन् ।

अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष सुनिल मोक्तानले विद्यालयको शैक्षिक एवम् भौतिक विकासमा वडाले यसअघि पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विद्यालयको सुधार र उचित शिक्षाका लागि अभिभावकले नियमित ध्यान दिनुपर्ने, शिक्षक, कर्मचारीले मिहिनेत गर्नुपर्नेमा वडा अध्यक्ष मोक्तानले जोड दिनुभएको छ । अभिभावक भेलामा प्रधानाध्यापक केशव प्रसाद सञ्जेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अभिभावक भेलाको अवसरमा विद्यालयले सहयोगी संघ, संस्थालाई सम्मान समेत गरेको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाकी अधिकृत सुनिता महर्जनको पनि उपस्थिति रहेको थियो ।