बागमती प्रदेशको राजधानी हेटौंडाबाट दिनहुँजसो लागूऔषध ओसारपसार गर्ने व्यक्तिहरु पक्राउ परिरहेका छन् । देशको संघीय राजधानी काठमाडौं र भारतसँग व्यापारिक कारोबार हुने मुख्य नाका वीरगञ्जबाट लागूऔषध कारोबार बढी हुने भएकाले हेटौंडामा लागूऔषध कारोबारी बढी पक्राउ पर्नु स्वभाविक हो । धेरै वर्षदेखि हेटौंडा लागूऔषध ओसारपसार तथा बिक्रीवितरणका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बनिरहेको छ । भारतीय सीमा क्षेत्रबाट भित्रिएका लागूऔषध हेटौंडा हुँदै संघीय राजधानी काठमाडौं तथा देशका पश्चिमी क्षेत्रमा बिक्री वितरणका लागि लगिने गरेको छ । कतिपय लागूऔषध काठमाडौं तथा देशका अन्य भागबाट हेटौंडा हुँदै भारतीय सीमा क्षेत्रमा पुर्याइन्छ । गैरकानुनी मानिएको लागूऔषध कारोबार गर्ने व्यक्तिहरुलाई प्रहरीले सुरक्षाजाँचको क्रममा र विशेष सुराकीका आधारमा पक्राउ गर्दै आइरहेको छ ।

नेपालमा धेरै प्रकारका लागूऔषधको उत्पादन, बिक्री वितरण तथा सेवन गैरकानुनी छ । गैरकानुनी कामलाई नियन्त्रण गर्ने जिम्मेवारी प्रहरीको हुन्छ । लागूऔषध गैरकानुनीमात्र नभई यो एउटा सामाजिक समस्या पनि बनिरहेको छ । लागूऔषध सेवनको कुलतमा लागेका बालबालिका, किशोरकिशोरी तथा युवाको भविष्य अन्धकारजस्तै हुन्छ । विश्वव्यापी समस्या बनिरहेको लागूऔषध दुव्र्यसनीका कारण देशको युवाशक्ति बेकामै बनिरहेको छ । लागूऔषधका कारण समाजमा आपराधिक गतिविधि पनि बढ्ने गरेको छ । लागूऔषधको ओसारपसार र सेवनसँगै जन्मिने आपराधिक मानसिकता वास्तवमै खतरनाक र चिन्ताजनक बनिरहेको छ । लागूऔषध दुव्र्यसनीमा युवापुस्ता फस्दै जाँदा त्यसले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै धेरै नकारात्मक असर पारेको छ । लागूऔषधका कारण समाजका किशोरकिशोरी र युवाहरु कुलतमा फस्दै जाने हो भने यसले सामाजिक, आर्थिक, शैक्षिक विकासमा ठूलो असर पुग्ने निश्चित छ ।

प्रहरीले अझ सक्रियतासाथ लागूपदार्थ नियन्त्रणका लागि प्रभावकारी अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । विश्वका सबैजसो देशहरु लागूऔषधको दुरुपयोगबाट गम्भीर समस्यामा परेका छन् । विश्वभरका कुल युवामध्ये ५ प्रतिशत लागूऔषधको गलत प्रयोगका कारण समस्यामा पर्ने गरेको तथ्यांक छ । अधिकांश मुलुकमा कलिला उमेरका किशोरकिशोरीहरुसमेत लागूपदार्थको नशामा फसेका छन् । यसबाट नेपाल पनि अछुतो बन्न सकेको छैन । एक तथ्याङ्कअनुसार नेपालमा लागूऔषध प्रयोग गर्नेहरुको संख्या अढाई लाखभन्दा बढी रहेको छ । यसले राम्रो संकेत गर्दैन । राज्यले समयमै लागूऔषध दुरुपयोगका गतिविधि रोक्न र न्यूनीकरण गर्न आवश्यक छ । लागूऔषध नियन्त्रणका लागि थुप्रै कानुनी व्यवस्था भए पनि यो मात्रै प्रभावकारी बनिरहेको छैन । लागूऔषधसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले मुद्दा चलाएर सजाय गर्ने गरेको भए पनि लागूऔषध ओसारपसार र सेवनको क्रम कम हुन सकेको छैन । यसबाट कानुनी उपायले मात्रै लागूऔषध नियन्त्रण प्रभावकारी हुन नसक्ने बुझ्न सकिन्छ ।

लागूऔषधको समस्यालाई दीर्घकालीन समाधान गर्न राज्यले विशेष नीति तथा कार्यक्रम तय गर्नुपर्छ । देशमा लागूऔषधको खेती, बेचबिखन, ओसारपसार र सेवन के कारणले भइरहेको छ भन्ने विषयमा राज्यको चासो र चिन्ता बढी हुनुपर्छ । राज्यका नीति निर्माता र सुरक्षा संयन्त्रले सूक्ष्म अनुसन्धान गरी लागूऔषधसम्बन्धी समस्याको कारण पहिचान गरी उपयुक्त निराकरणका उपायहरु अपनाउनु आवश्यक छ । कलिला उमेरका बालबालिका, किशोरकिशोरी तथा युवापुस्ता लागूऔषधको कारोबार दुव्र्यसनमा फस्दा उनीहरुको भविष्य अन्धकार बनिरहेको छ । लागूऔषधका कारण धेरै युवाहरुले आफ्नो अमूल्य जीवन बर्बाद पारिरहेका छन् । लागूऔषधविरुद्ध सुरक्षा निकायले आफ्नो संयन्त्रका साथै विशेष अभियान चलाएर विद्यार्थी, अभिभावक, नागरिक समाजलगायतसँगको समन्वय र सहकार्य गर्नु उचित हुनेछ ।