हेटौंडाः चितवन जिल्लामा निर्माण मिस्त्रीको काम गर्ने क्रममा लडेर मृत्यु भएको छ । यस्तै दोलखा जिल्लामा एकजनाको शव बरामद भएको छ ।
चितवन जिल्लाको कालिका नगरपालिका–७, सिमलबस्तीमा निर्माणसम्बन्धी कार्य गर्ने मित्रीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकी मुलुक भारतको उत्तर प्रदेश घर भई हाल सिमलबस्तीमा बस्दै आएका ३० बर्षीय श्रीराम ठाकुरको खानेपानीको ट्यांकी प्लाष्टर गर्ने क्रममा माथिबाट खसेर घाइते भएका थिए । ठाकुरलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो ४ बजेर ४२ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, दोलखा जिल्लाको जिरी नगरपालिका–३, मालिमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३८ बर्षीय साङ्गे शेर्पा रहेको प्रहरीले जानकारी दिएको छ । शेर्पा चैत ४ गतेदेखि हराएकोमा आइतबार दिउँसो २ बजेर ३० मिनेटको समयमा काप्ति जंगलको खोल्सामा मृत फेला परेका प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जिरी लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
