हेटौंडाः चितवनसँगको मैत्रीपूर्ण खेलमा घरेलु टोली मकवानपुरले खराब प्रदर्शन गरेको छ । ४० ओभरको खेलमा मकवानपुरले २९ ओभरमै अलआउट भएर १ सय १८ रन मात्रै जोड्न सफल भयो । मकवानपुरका लागि शुभ कंशाकारले ४२ रन जोड्नुबाहेक अन्य खेलाडीले राम्रो व्याटिङ गर्न सकेन ।

मकवानपुरलाई सस्तैमा समेट्ने क्रममा चितवनका कप्तान दिपेश श्रेष्ठले ३ विकेट लिए । १ सय १९ रनको लक्ष्यसहित चितवन जवाफी व्याटिङमा उत्रिएको छ । चितवन र मकवानपुरबीच आजबाट तीन दिवसीय मैत्रीपूर्ण क्रिकेट खेल सुरु भएको हो । भोलि र पर्सी लगातार मैत्रीपूर्ण खेल हुनेछ । मकवानपुरको कप्तानी सुमन सुनारले गरेका छन् ।

आज सोमबार बिहान हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको उपस्थितिमा खेल सुरु भएको हो । मकवानपुर जिल्लाले यसअघि पनि चितवन, बारा, पर्सा, रौतहट जिल्लासँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ । मकवानपुर जिल्ला बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिम समेत हो ।