हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भएको छ । रक्तसञ्चार केन्द्र हेटौंडाका अनुसार रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव भएको हो । संघ, संस्थाले वार्षिकोत्सव, स्थापना दिवस लगायत विविध अवसरमा आयोजना गर्ने रक्तदानका कार्यक्रम नै रगत संकलनको प्रमुख माध्यम हो ।
फागुन २४ गतेयता रक्तदान कार्यक्रम हुन सकेको छैन । रक्तदान कार्यक्रम नभएर रगतको अभाव हुँदा रक्तसञ्चार केन्द्रले बोलाउँदा आउने (अनकल) रक्तदातालाई बोलाएर रगत संकलनको कार्य गरिरहेको छ । “रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव भइरहेको छ । चैत ४ गते हुने भनिएको कार्यक्रम स्थगित भएपछि रगत संकलनको कार्यमा तीन सातादेखि अवरुद्ध बनेको छ,” रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले भन्नुभयो, “रगतको अभावका बेला बोलाउँदा आउने रक्तदातालाई बोलाएर रगत संकलनको कार्य गरिरहेका छौं ।”
रगतको अभाव भएका बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, युवा समूहलाई रक्तदान गर्न आव्हान गर्ने गरिएको र उनीहरु रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्ने गरेको पनि प्राविधिक सापकोटाले बताउनुभयो । गत शुक्रबार एकैदिन २२ जनाले रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गरेको सापकोटाले जानकारी दिनुभयो । हेटौंडामा दैनिक औषत १५ प्याकेट रगत खपत भइरहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । रगतको अभाव रहेकोले रक्तसञ्चारमै आएर रक्तदान गर्न पनि प्राविधिक सापकोटाले आग्रह गर्नुभएको छ ।
रक्तसञ्चार केन्द्रले फागुन अन्तिम सातादेखि रक्ततत्व विभाजन गरी आवश्यकताअनुसार वितरण गर्ने व्यवस्था समेत मिलाएको छ । रक्ततत्वको माग भने न्यून रहेको बताइएको छ । रक्तसञ्चार केन्द्र हेटौंडाले फ्रेस फ्रोजन प्लाज्मा (एफएफपी), प्लेट्लेट्स रिच प्लाज्मा (पीआरपी) र प्याकसेल उपलब्ध गराउन सुरु गरेको हो ।











