हेटौंडाः हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडामा बक्सिङ कभर्डहल निर्माण हुने भएको छ । आइतबार कभर्डहल निर्माणका लागि सिलान्यासको कार्य गरिएको छ ।
हेटौंडा–१४, नयाँबस्तीमा निर्माण हुने कभर्डहलका लागि वडा कार्यालयले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा अध्यक्ष दीपक खड्काले जानकारी दिनुभयो । ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सिलान्यास गरिएको कभर्डहल निर्माणका लागि १ करोड ५० लाख सम्म खर्च लाग्ने अनुमान गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । कभर्ड हल निर्माणका लागि उपमहानगर र प्रदेश सरकारसँग पनि बजेट उपलब्ध गराउन पहल गरिने उहाँको भनाइ छ ।
खेलकुदको विकासका लागि पूर्वाधार निर्माणमा पछिल्लो समय सरोकारवालाले चासो देखाउन थालेको छ । केही समयअघि मात्रै हेटौंडा उपमहानगरपालिकाकै लगानीमा हेटौंडा–४ मा बहुउद्देश्यीय कभर्डहल निर्माण भइसकेको छ भने हेटौंडा–४, कर्रामा मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले पनि तेक्वान्दो खेलका लागि कभर्डहल निर्माण गरिसकेको छ । यस्तै हेटौंडा–११, थानाभर्याङमा पनि बहुउद्देश्यीय कभर्डहल निर्माण गरिएको छ ।
