Home मुख्य समाचार गाउँपालिका महासंघको बागमती प्रदेश अध्यक्षमा मगर

गाउँपालिका महासंघको बागमती प्रदेश अध्यक्षमा मगर

हेटौंडाः गाउँपालिका राष्ट्रिय महासंघको बागमती प्रदेशको अध्यक्षमा सिन्धुलीका कर्ण बहादुर मगर चयन हुनुभएको छ । आइतबार हेटौंडामा भएको महासंघको दोस्रो अधिवेशनबाट नेपाली काँग्रेसबाट निर्वाचित मगर अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

बागमती प्रदेशमा रहेको ७४ वटा गाउँपालिकामध्ये सबैभन्दा बढी अध्यक्ष र उपाध्यक्ष पद जित्ने नेपाली काँग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष, दोस्रो बढी जितेको नेकपा माओवादी केन्द्रले हुने सचिव र सह–सचिव र तेस्रो नेकपा एमालेले हुने कोषाध्यक्ष पद पाएको छ । प्रदेशका ७४ गाउँपालिकामध्ये ३४ प्रमुख र ३१ उपप्रमुख जितेको नेपाली काँग्रेसले समितिको अध्यक्ष र उपाध्यक्षसहित ८ सदस्य पाएको छ । यस्तै २२ पालिका अध्यक्ष र २६ उपाध्यक्ष जितेको नेकपा माओवादी केन्द्रले सचिव र सह–सचिवसहित ६ सदस्य पद पाएको छ । १७ पालिका अध्यक्ष र १४ उपाध्यक्ष जितेको नेकपा एमालेले कोषाध्यक्षसहित ४ सदस्य र १ पालिकामा अध्यक्ष र ३ उपाध्यक्ष जितेको नेकपा एकीकृत समाजवादीले एक सदस्य पद पाएको छ ।

मगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । महासंघको उपाध्यक्षमा काँग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकका दिछेन शेर्पा, सचिवमा कान्छालाल जिम्बा, सह–सचिवमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी उपप्रमुख मानकुमारी पाख्रिन र कोषाध्यक्षमा शंकर बराल चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ५ बर्षको रहनेछ । आइतबार साँझ ६ बजेसम्म पनि नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्षसहित ८ सदस्यको नाम टुङ्गो गर्न नसक्दा कार्यसमिति चयन गर्न ढिलो भएको थियो ।

Exit mobile version