
हेटौंडाः स्थानीय सरकारले श्रमिक बालबालिकाको सहभागितालाई प्राथमिकता नदिएको गुनासो गरिएको छ । शुक्रबार हेटौंडामा बालमैत्री स्थानीय तह प्रबद्र्धनका लागि श्रममा रहेका बालबालिकाको सहभागितासम्बन्धी वकालत बैठकमा यस्तो बताइएको हो ।
स्थानीय सरकारको नीति तथा कार्यक्रममा सबै तहका बालबालिकाको सहभागिताको सुनिश्चितता हुनुपर्ने बताइएको छ । सरकारको नीति तथा कार्यक्रम बालबालिकाको सहभागिताका लागि संवाद गर्नुपर्ने आवश्यकता बैठकमा औंल्याइएको छ । अधिकांश स्थानीय तहमा बालअधिकार समिति र बालकल्याण अधिकारी नियुक्त नगरिएको बैठकमा जानकारी दिइयो । बालबालिकाको बजेट विनियोजन, बालकोष स्थापनाजस्ता महत्वपूर्ण कार्यहरु स्थानीय तहले नगरेको बैठकका सहभागीहरुले गुनासो गरेका छन् । घरेलुु श्रमिक, इट्टाभट्टा, मनोरञ्जन, ढुंगा, गिट्टी र बालुवा आदि क्षेत्रमा काम गर्ने बालबालिकाको समस्याका आधारमा उक्त विषयहरुमा वकालत गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको अस्मान नेपालका सहजकर्ता करुणा सुवेदीले जानकारी दिनुभयो । अस्मान नेपालले बालश्रमिकसँग गरेको कार्यशालामा ११ पटक परामर्श बैठक गरेको छ । बैठकमा बागमती प्रदेशका १ सय ६२ जना बालश्रमिक सहभागी भएको सुवेदीले बताउनुभयो ।
श्रमिक बालबालिका शारीरिक तथा मौखिकरुपमा यौन दुव्र्यवहार, मानसिक तथा शारीरिक यातना, श्रमअनुसारको ज्याला नपाउने, अत्यधिक चोटपटक लागेको, विद्यालयबाट वञ्चित, माया–ममता र मार्गदर्शनको अभाव र बेचविखनमा रहेको उहाँले बताउनुभयो । बाबुआमाविहीन १६ वर्षीया एक किशोरीले ढुंगा, गिट्टी र बालुवामा आफू श्रम गर्न बाध्य रहेको बताएको उहाँले जानकारी दिनुभयो । ती श्रमिक किशोरीले बहिनीको पढाइका लागि सहयोगको अपिल गरेको उहाँले बताउनुभयो । सुवेदीका अनुसार श्रमिक बालबालिकाहरुले तीन तहको सरकारलाई सुझावसमेत दिएका छन् । श्रमिक बालबालिकाको गाँस, बास र कपाससहित निःशुल्क शिक्षा व्यवस्था गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
बालबालिकालाई श्रममा लगाउन पर्ने बाध्यता भएका घरपरिवारको पहिचान गरी जीविकोपार्जनमा सहयोगका लागि सुझाव दिइएको छ । श्रमिक बालबालिकाको परिवारलाई रोजगारमा प्राथमिकता दिनुुपर्ने बताइएको छ । यस्तै, श्रमिक बालबालिकाको उद्दार, घरपरिवारसँग पुनर्मिलान गराउन श्रमिक बालबालिकाले आग्रह गरेका छन् । अस्मान नेपालका कार्यक्रम प्रबन्धक मणिराम आचार्यले २ लाख ५० हजार बालबालिका अझै निकृष्ट बालश्रममा रहेको बताउनुभयो । विभिन्न परिस्थिति र बाध्यतालाई बुझ्न सके दिगो हुने उहाँको भनाइ छ । बालश्रम घट्दै जानुलाई सकारात्मक रुपमा लिएर बालश्रम अन्त्यको लागि लाग्नु सबैको दायित्व रहेको उहाँको भनाइ छ । हेटौंडा–१, चाइनाक्वाटरमा रहेको अमर माध्यमिक विद्यालयका शिक्षक डीबी बर्ताैलाले वास्तविक श्रमिक बालबालिका अझै बाहिर आउन नसकेको जानकारी दिनुभयो । उहाँले श्रमिक बालबालिकाका अभिभावकलाई अनिवार्य सचेतना जगाउनु आवश्यक रहेको बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितका एक प्रतिनिधिले हेटौंडा उपमहानगरपालिकाले लिएको बालमैत्री अभियान सफल बनाउन चुनौती रहेको बताउनुभयो । उहाँले ५१ वटा सूचक पूरा गर्न राजनीतिक अस्थिरताले उपमहानगरलाई हम्मेहम्मे परिरहेको उहाँले जानकारी दिनुभयो । अस्मान नेपाल र बाल कल्याण समाज मकवानपुरको सहकार्यमा भएको बैठकमा राष्ट्रिय बाल संरक्षण सञ्जाल बागमती प्रदेशका अध्यक्ष प्रकाश खतिवडाले बालमैत्री घोषणा गरेका मनहरीमा श्रमिक बालबालिका अझै रहेको जानकारी दिनुभयो । यस्ता कार्यक्रमले बालमैत्री घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकालाई सहयोग पुग्नेसमेत उहाँको भनाइ छ ।










