हेटौंडा अस्पतालको तस्विर ।

हेटौंडाः हेटौंडा अस्पतालमा हाडजोर्नी (अर्थाेपेडिक) सम्बन्धी बिरामीको संख्या दिन प्रतिदिन बढ्दोरुपमा रहेको छ । विगतमा दैनिक एक सय जनादेखि १५० जनासम्म हाडजोर्नी रोगसम्बन्धी बिरामी उपचारका लागि आउने गरेकोमा अहिले ३ सय जनादेखि ३५० जनासम्म बिरामी आउने गरेको हेटौंडा अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. रविराज देवकोटाले जानकारी दिनुभयो ।

हेटौंडा अस्पतालमा हप्ताको दुई दिन आइतबार र सोमबार अपरेशन गर्ने र बाँकी दिन सामान्य जाँच गर्ने गरिन्छ । माघ महिनामा १३ जना महिला र ११ जना पुरुष गरी २४ जनाको ठूलो अपरेशन गरिएको छ । यस्तै, ६ जना महिला र ५ जना पुरुषको सामान्य अपरेशन गरिएको छ ।

विगतमा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर २ जना रहेकोमा बिरामीको संख्या बढ्न थालेपछि हेटौंडा अस्पतालमा अहिले ६ जना हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रहेको बताइएको छ । सडक दुर्घटनासम्बन्धी बिरामी उपचारका लागि बढी आउने गरेको डा. देवकोटाले जानकारी दिनुभयो । लापरबाही गरेर सवारी साधन चलाउने तथा किशोरकिशोरीले सवारी साधन राम्रोसँग नसिकी चलाउनाले सवारी दुर्घटना बढेको उहाँले जानकारी दिनुभयो । उमेर बढ्दै गएपछि हाडजोर्नीसम्बन्धी समस्या बढी देखिने गरेको र नशासम्बन्धी रोग, बाथ रोग, युरिक एसिडका बिरामी पनि उपचारको लागि आउने गरेको डा. देवकोटाले जानकारी दिनुभयो ।