हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा १ हजार ५ सय ७४ मत खसेको छ । आइतबार बिहान ८ बजेबाट मतदान सुरु भई दिनको ४ बजे मतदानको कार्य पूरा भएको हो ।
कुल ३ हजार ९१ मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पसमा ५० दशमलव ९२ प्रतिशत मत खसेको छ । स्ववियु अध्यक्षमा नेकपा एमाले निकट अनेरास्ववियुका नवराज शर्मा पौडेल र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका छोइसाङ लामा उम्मेदवार छन् । मकवानपुर बहुमुखी क्याम्पसले ६ वटा मतदान केन्द्र निर्धारण गरेको थियो । केहीबेरमा मतगणनाको कार्य सुरु गर्ने निर्वाचन अधिकृत यमबहादुर सिलवालले जानकारी दिनुभएको छ ।