हेटौंडाः वैदेशिक रोजगारले निम्त्याएको सामाजिक असरसम्बन्धी सुरक्षा आप्रवासन (सामी) कार्यक्रम भएको छ । थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाको सहकार्यमा हेटौंडा उपमहानगरपालिकामा शुक्रबार कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरको वडाका सदस्यहरुको उपस्थिति थियो । रामकृष्ण कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रमा हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख भीम तिमिल्सिनाले वैदेशिक रोजगार नेपाली अर्थतन्त्रको अक्सिजन भएको बताउनुभयो । ३९ जिल्लामा लागू भइसकेको सामी कार्यक्रम हेटौडाको ३, १२ र १४ नम्बर वडामा सञ्चालन भइसकेको उहाँले बताउनुभयो । कार्यक्रमको बारेमा सामुदायिक अभिमुखीकरण कार्यक्रम भने सबै वडामा सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा गोमा पौडेलले केही मिडियाहरुले गलत कुरालाई हाइलाइट गरेकाले समाजमा नकारात्मक असर परेको बताउनुभयो । कार्यक्रमा दुई वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो । एउटा वृत्तचित्रमा वैदेशिक रोजगारमा श्रीमान् गएपछि श्रीमतीलाई बिभिन्न लाञ्छना लगाई उनीहरुको सम्बन्ध नै बिछोड भएको कुरा देखाइएको छ । त्यस्तै, अर्को भिडियोमा श्रीमान वैदेशिक रोजगारमा गएको र श्रीमतीलाई अन्य पुरुषले म्यासेज गरी सताइरहेका कारण कानुनी उपचार पनि सम्भव रहेको उहाँले जानकारी दिइएको थियो ।
