
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ६ नम्बर वडा पूर्णखोप तथा पूर्ण संस्थागत सुत्केरी सुनिश्चित वडा घोषणा भएको छ । संघीय सरकारले थालेको पूर्णखोप सुनिश्चितता गर्ने अभियान अन्तर्गत उपमहानगरको पहिलो वडाको रुपमा हेटौंडा–६ ले पूर्णखोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चित वडा घोषणा गरेको हो ।
बुधबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले पूर्णखोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चित वडा घोषणा गर्नुभयो । नगरप्रमुख लामाले १८ महिनादेखि २३ महिनाका बालबालिकाले २ बर्ष उमेर भित्र पूर्णखोप पाएको तथा वडाका सबै गर्भवतिहरु स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएको सुनिश्चित गरिएको हुँदा यसलाई भविष्यमा पनि कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभयो । अभियानको उद्घाटन गर्नुहुँदै नगर प्रमुख लामाले स्वास्थ्य सेवाको स्तर बृद्धिका लागि उपमहानगर लागीरहेको बताउनुभयो । उहाँले स्वास्थ्यमा सुधारसँगै नगरलाई बालमैत्री पालिका घोषणाका लागि सबैको सहयोग आवश्यक भएको स्पष्ट पार्नुभयो । उहाँले नगरवासीलाई स्वास्थ्य सुविधाबाट बञ्चित गराउनु हुँदैन भन्ने उद्देश्यले उपमहानगरले अहिलेसम्म एक हजार चार सय ५२ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “हामी जिम्मेवारीपूर्ण ढंगबाट काम गरिरहेका छौं, यसमा नगरवासीको पनि सहयोग आवश्यक छ ।”घोषणा प्रक्रिया पूरा गर्नका लागि प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फत वडाको सर्वेक्षण गरी तथ्याङ्कको प्रमाणीकरण निर्देशिका बमोजिम पुरा गरेको स्वास्थ्य चौकीका प्रमुख टिएन ढुङगेलले जानकारी गराउनुभयो । घोषणाका लागि स्वास्थ्य चौकीले वडामा रहेका ८८ बालिबालिकालाई पूर्णखोप दिएको, १०२ जना गर्भवतीले स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको जानकारी कार्यक्रममा दिइएको थियो ।
घोषणासँगै वडामा टोल टोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियानको पनि सुरुवात भएको छ । वडामा रहेको २३ वटा टोल विकास संस्थाको घर–घरमा पुगेर स्वास्थ्य अवस्थाको बारे जानकारी लिने अभियानको पनि बुधबारबाटै सुरुवात भएको स्वास्थ्य चौकी प्रमुख ढुङ्गेलले बताउनुभयो । हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष बिष्णुबहादुर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाई, प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपक तिवारीले सम्पन्न भएका कामलाई दीगो बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।










