हेटौंडाः सुख्खा मौसम सुरु भएको एक महिना हुँदैछ । सुख्खा मौसमको एउटा संकेत हो दैनिकजसो सुनिने दम्कलको साइरन । यो बर्ष हिउँदे बर्षा नभएका कारण आगलागीको गम्भीर जोखिम रहेको जानकारको अभिव्यक्तिका बीच फागुन महिनामा मात्रै हेटौंडा उपमहानगरपालिकाको बारुण यन्त्र शाखाले ४० स्थानको आगलागीको घटना नियन्त्रणमा लिएको छ ।
फागुन महिनामा मात्रै ४० स्थानमा आगो नियन्त्रणमा लिएको हेटौंडा उपमहानगरपालिकाको वारुणयन्त्र शाखाका इन्चार्ज शुक्र बहादुर मुक्तानले जानकारी दिनुभयो । आइतबार मात्रै हेटौंडा उपमहानगरपालिकाको दुईवटा दमकल ४ पटक आगो नियन्त्रणका लागि खटिनु परेको थियो । वन क्षेत्रमा डँढेलो नियन्त्रणका लागि बढीजसो दमकल प्रयोग भएको देखिन्छ ।
हेटौंडा उपमहानगरपालिकामा अहिले दुईवटा दमकल रहेको छ । हेटौंडा उपमहानगरपालिकासँग ४ हजार लिटर पानी ढुवानी गर्न सक्ने दमकल रहेका छन् । दमकल चालकसहित १३ जना उद्दारमा खटिने जनशक्ति छन् । दमकलमा सेवानिवृत्त प्रहरी तथा सशस्त्र प्रहरी कार्यरत छन् । अझै एक दमकल थप्ने तयारीमा रहेको इन्चार्ज मुक्तानले बताउनु भयो । प्रहरीसँग समन्वय गर्दै उद्दार गर्ने गरिएको उहाँले थप्नुभयो । उहाँका अनुसार फागुनमा विद्युत प्राधिकरणको केन्द्रीय वर्कसपको स्टोर र हेटौंडाको डम्पिङ साइटमा सबैभन्दा ठूलो आगलागीको घटना भएको छ ।
आगलागीका घटना नियन्त्रणमा लिने र जोखिममा रहेकाहरुको उद्दार गर्ने काम सजिलो नभएको बताउनुहुँदै मुक्तानले स्थानीयले सहयोग गर्दा सहज आगोलागी नियन्त्रण र जोखिममा रहेकाहरुको उद्दार कार्य सहज हुने बताउनुहुन्छ । दमकल सेवाका लागि ०५७–५२०६७७ मा सम्पर्क गर्न सकिने उहाँले जानकारी दिनुभयो । उहाँले प्रहरीलाई सम्पर्क गरेर पनि दमकल बोलाउन सकिने बताउनुभयो ।











