बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय ।

हेटौंडाः बागमती प्रदेश सरकारको मन्त्रालयका भवनहरु हेटौंडा–१६, हटियामा बनाउनका लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको छ । मन्त्रीपरिषद्को सोमबार बिहान बसेको बैठकले मन्त्रालयको भवन र अन्य पूर्वाधारहरु बनाउन वातावरणीय प्रभाव मूल्यांकन गर्ने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जनाउनुभयो ।

प्रदेश सरकारले मकवानपुरका विभिन्न स्थानमा जग्गा पहिचान गरी त्यस स्थानमा प्रदेश संरचना बनाउन संघीय सरकारलाई सिफारिस गरेपनि हटियाको कित्ता नम्बर १९६ मा रहेको ५४ विगाह जमिनको मात्र संघीय सरकारबाट स्वीकृति प्राप्त भएको उहाँले जानकारी दिनुभएको छ । सिफारिस गरिएका अरु जग्गा प्राप्तिको प्रक्रियामा रहेको उहाँको भनाइ छ ।

प्रदेश सरकारले हेटौंडा–१७ डिपोचौरमा मकवानपुर बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा रहेको कित्ता नम्बर १८३ को १२ विगाहा, हेटौंडा सिमेन्ट उद्योगले अधिग्रहण गरी प्रयोगमा नआएको हेटौंडा–९, लामसुरे हाइटमा २० विगाहा र हालको प्रदेश मन्त्री निवास खण्डदेखि दक्षिण भागमा रहेको ४ विगाहा गरी करीब २४ विगाहा जग्गा बागमती प्रदेश सरकारको नाममा ल्याउनका लागि केन्द्र सरकारसँग माग गरेकोे थियो । यसैगरी नापी नभएका हेटौंडा–६, चित्रेपानीको करिब २४ बिगाहा र हेटौंडा–१९, लेवटमा रहेको करिब ८० बिगाहा जग्गा समेत प्रदेश सरकारको नाममा ल्याउनका लागि संघीय सरकारसँग अनुरोध गरिएको थियो ।

प्रदेशले आफ्नो संरचना बनाउन नसक्दा अहिले एउटा मन्त्रालय भाडाको घरबाट सञ्चालन भैरहेको छ भने मुख्यमन्त्री कार्यालयसहितका अरु मन्त्रालय र कार्यालयहरु तत्कालिन संघीय सरकारका विभिन्न भवनहरुबाट सञ्चालित छन् ।