हेटौंडाः आगामी चैत ४ गतेदेखि हेटौंडामा सुरु हुने अन्तरपालिका मकवानपुर जिल्लास्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आइतबार आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । आइतबार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच र राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ भने फाइनल खेल चैत ११ गते हुनेछ । प्रतियोगितामा निशुल्क प्रवेश गराइने जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।