हेटौंडाः हेटौंडामा मंगलबारबाट हुने अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । आइतबार हेटौंडा–४, परिजातपथस्थित कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले प्रतियोगिताको सबै तयारी पूरा भएको बताउनुभएको हो ।
मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रतियोगिताको बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुहुनेछ भने शनिबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले प्रतियोगिताको समापन गर्नुहुनेछ ।
प्रतियोगितामा २३ जिल्लाबाट ३७ वटा क्लबका १ सय ७८ जना खेलाडीहरु सहभागी हुने अध्यक्ष जोशीले बताउनुभयो । जसमा २८ जना महिला खेलाडी रहनेछ । प्रतियोगितामा १७ बर्षदेखि २१ बर्ष उमेरसम्मका खेलाडीले सहभागिता जनाउने छन् । नोभिस प्रतियोगिता सहभागी खेलाडीको पहिलो औपचारिक प्रतिस्पर्धाको रुपमा रहनेछ । प्रतियोगितामा सहभागी खेलाडीहरुले १६ विधामा प्रतिस्पर्धा गर्ने अध्यक्ष जोशीले बताउनुभयो । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा मकवानपुरका ७ जना खेलाडीले सहभागिता जनाउनेछन् । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट रेफ्री र वेष्ट लुजरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । राम्रो खेल्दा–खेल्दै पनि हारेका एकजना वेष्ट लुजरलाई पुरस्कृत गरिने अध्यक्ष जोशीले बताउनुभयो । प्रतियोगिता हरेक बर्ष आयोजना गरिने अध्यक्ष जोशीले बताउनुभयो ।
जिल्ला बक्सिङ संघका उपाध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुशील घिमिरेले प्रत्येकदिन खेलको म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ उपलब्ध गराउने बताउनुभएको छ । बक्सिङका पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत रहनुभएका घिमिरेले मकवानपुरका २३ जना खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलमा मेडल जितेको बताउनुभयो । मेडल जित्न सफल खेलाडीहरुलाई प्रतियोगितामा सम्मान गरिने जनाएको छ ।










