Home मुख्य समाचार नवोदयका विद्यार्थीको विज्ञान प्रदर्शनी

नवोदयका विद्यार्थीको विज्ञान प्रदर्शनी

नवोदय शिशु सदनमा विज्ञान प्रदर्शनीमा सहभागी विद्यार्थी।

हेटौंडाः हेटौंडा–४, कमलडाँडास्थित नवोदय शिशु सदन माविका विद्यार्थीले विज्ञान प्रदर्शनी (जुनियर साइन्टिस्ट) को आयोजना गरेको छ । वैज्ञानिक अध्ययन, अनुसन्धानमा विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्यले १ कक्षादेखि ९ कक्षासम्मका विद्यार्थी प्रदर्शनीमा सहभागी छन् । विभिन्न विषयमा रहेर विद्यार्थीले स्वतःस्फूर्तरुपमा वैज्ञानिक विधिमा आधारित क्रियाकलाप गरेका छन् ।

एउटा समूहमा ४ जना विद्यार्थीको सहभागिता रहने गरी २२ वटा समूहले आआफ्ना विषयको अध्ययन, अनुसन्धानलाई प्रदर्शनी गरेका छन् । प्रदर्शनीमा सहभागीको प्रस्तुतीको मूल्यांकन गरी पुरस्कृत गरिएको छ । नवोदय विज्ञान क्लबको आयोजनामा गत वर्षदेखि विज्ञान प्रदर्शनीको आयोजना भइरहेको छ । यो दोस्रो संस्करण हो । एकदिने प्रदर्शनीसँगै रोवोटिक, हर्वेरियम, माइक्रोस्कोप, वाटर रकेटसम्बन्धी कार्यशाला समेत आयोजना गरिएको नवोदय शिशु सदनमा शैक्षिक निर्देशक अरुण दाहालले जानकारी दिनुभयो । विद्यार्थीको प्रदर्शनीलाई विद्यार्थी, शिक्षक, अभिभावक, आमन्त्रित व्यक्तिहरुले अवलोकन गरेका थिए ।

विज्ञान प्रदर्शनीमा सहभागी हुन विद्यालयले सवै विद्यार्थीलाई आव्हान गरेको जानकारी गराउनुहुँदै शैक्षिक निर्देशक दाहालले भन्नुभयो, “प्रस्ताव आव्हानपछि विद्यार्थीले प्रस्तुत गरेका परियोजनाको प्रस्तुतीका आधारमा छनोट गरी उनीहरुलाई दुई साताको तयारी गर्न दिएर प्रदर्शनीमा सहभागी गराएका छौं ।” ‘सिंक एण्ड फ्लोट’ को प्रयोगात्मक गरेका कक्षा १ का प्रिन्सा मोक्तान, अनुभव कौशिक पण्डित र लियना कोइरालाको समूह उत्कृष्ट भए । यसैगरी इन्टरमिडियट लेभलमा वृष्टि जयसवाल, दिप्सना स्थापित र मिल्सन राज वैद्यको समूह उत्कृष्ट छनौट भए । वृष्टिको समूहले ‘सुगर कन्टेन्ट अफ सोडा’ प्रयोगात्मक प्रस्तुत गरेका थिए, मिल्सनको समूहले प्रकाशको परिवर्तन प्रस्तुत गरेका थिए भने दिप्सनाले फोलटिङ एग इन वाटर प्रयोगात्मक प्रस्तुत गरेका थिए ।

त्यसैगरी सिनियर लेभलमा प्रीतिका कार्की र दृष्टि प्रधानको समूह उत्कृष्ट घोषित भएका छन् । प्रीतिकाले इनर्सिया टावर र दृष्टिले कलर्ड फ्रेम प्रयोगात्मक तवरले प्रस्तुत गरेका थिए । त्यसैगरी जुनियर लेभलमा हावाको प्रयोगात्मक प्रस्तुत दिएका आरोग्य खनाल उत्कृष्ट घोषित भएका छन् । जुनियर साइन्टिस्ट कार्यक्रम संयोजक कक्षा ९ का अमीर चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । विद्यालयमा हुने विज्ञान कार्यशाला कार्यक्रमले पढ्नमा थप टेवा मिल्ने वडा अध्यक्ष सिग्देलले बताउनु भएको छ ।

Exit mobile version