स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएका तीनजना चिकित्सकहरु ।

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडास्थित हेटौंडा अस्पतालमा तीनजना चिकित्सक थपिएका छन् । लकडाउनका बेला २ नम्बर प्रदेशका जिल्लाबाट समेत प्रसुतीसेवा लिन आउनेको संख्या बढेसँगै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला तथा प्रसुती स्वास्थ्य विषयमा स्नात्तकोत्तर तह (एमडी) अध्ययनरत तीनजना चिकित्सकलाई एक महिनाका लागि हेटौंडा अस्पतालमा पठाएको हो । यसअघि नै हेटौंडा अस्पतालमा तीनजना महिला तथा प्रसुती स्वास्थ्य विशेषज्ञ कार्यरत छन् ।

हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठका अनुसार प्रदेश नम्बर २ मा कोरोना भाइरसको संक्रमित भेटिएदेखि प्रसुती सेवा लिन हेटौंडा आउनेको संख्या बढेको छ । प्रदेश नम्बर २ को पर्सा जिल्लास्थित वीरगन्ज अस्पताललाई कोरोना विशेष अस्पताल बनाउनु, रौतहटमा पनि कोरोना संक्रमित पहिचान हुनुले प्रसुती सेवा लिन हेटौंडा आउने क्रम बढेको डा. श्रेष्ठले बताउनुभयो । हेटौंडा अस्पतालले उपचार नै गर्दिन भन्न नमिल्ने उल्लेख गर्नुहुँदै डा. श्रेष्ठले भन्नुभयो, ‘हाम्रो आशय जिल्लाभित्रै सम्भव हुने प्रसुती सेवा जिल्लामै लिए विरामीलाई पनि राम्रो र हामीलाई पनि संक्रमणको त्रास हुने थिएन भन्ने थियो । तर, मन्त्रालयले सेवाग्राहीको चाप बढेको भन्दै चिकित्सक पठाइदिएछ ।’ अस्पतालमा चिकित्सक बढ्नु राम्रो भएको भन्दै उहाँले तीनैजना महिला हुनुले सेवाग्राहीलाई थप सहजता हुने बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. सरिता जोशी, डा. वर्षा पौडेल र डा जयन्ती यादवलाई हेटौंडा अस्पताल पठाएको छ । बैशाख महिनामा मात्रै हेटौंडा अस्पतालमा ४४ जना गर्भवतीले शल्यक्रियामार्फत र एक सय १४ जना गर्भवतीले सामान्य प्रसुती सेवा लिएका छन् ।