बैठकमा सहभागी बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ (बीचमा), बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल (बायाँ), प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बहादुर बानियाँ (दायाँ) ।

हेटौंडाः बागमती प्रदेश सभामा बजेट अधिवेशनको तयारी सुरु भएको छ । बागमती प्रदेशले अधिवेशनका बैठकहरु प्रदेश सभा हलमा नै गर्ने तयारी गरेको छ । सोमबार बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा भिडियो कन्फ्रेन्स मार्फत बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अब सुरु हुने बजेट अधिवेशनको विषयमा छलफल गरेको थियो । बैठकमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बहादुर बानियाँको पनि उपस्थिति रहेको थियो ।

कारोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि संघीय सरकारले लकडाउन घोषणा गरेको समयमा भौतिक दुरी कायम गरी आवश्यक सुरक्षाको मापदण्ड पुर्‍याएर मात्रै प्रदेश सभाहलमा सांसदहरुलाई प्रवेश गराई बैठक संचालन गर्ने तयारी भएको सभामुख सानुकुमार श्रेष्ठले बताउनुभयो । संघीय संसदमा समेत बजेट अधिवेशन आव्हान भएसँगै प्रदेशमा पनि प्रदेश सरकारबाट अधिवेशन आव्हान भएको अवस्थामा बैठकलाई सुरक्षित रुपमा संचालन गर्नका लागि अपनाउन सकिने विधि र प्रक्रियाका विषयमा बैठकमा छलफल भएको थियो । छलफलमा भाग लिनुहुँदै प्रदेश सभा सदस्यहरुले बजेट अधिवेशन महत्वपूर्ण भएकाले यो अधिवेशन समयमै सुरु गरिनु पर्ने र बैठक बस्दा सरकार र डब्लुएचओको मापदण्ड पूर्ण रुपमा पालना हुनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा भाग लिनुहुँदै बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बहादुर बानियाँले दलगत रुपमा बैठकमा उपस्थित हुने तथा छलफलमा भाग लिने सांसदको नाम टुंगो लगाई बैठक हलमा सामाजिक दुरी कायम गर्नुपर्ने सुझाव दिनुभएको थियो । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत हुने र वार्षिक बजेट समेत प्रस्तुत भई पारित हुने यो अधिवेशन निकै महत्वपूर्ण मानिन्छ । यसैबीच प्रदेश सभाका सचिव कृष्णहरी खड्काले आवश्यक सुरक्षाका सम्पूर्ण उपायहरु अपनाएर बैठक संचालनको लागि प्रदेश सभा सचिवालय पूर्ण रुपमा तयारीमा रहेको जानकारी गराउनुभयो ।