हेटौंडाः पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको गाउँपालिकास्तरीय अन्तरविद्यालय छात्रा फुटबल तथा वडास्तरीय शिक्षक फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

छात्रातर्फको उपाधी प्रभात माविले जितेको छ । बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङका अनुसार बकैया–३, हात्तीसुँडेस्थित बुद्ध माविको खेल मैदानमा बुधबार भएको फाइनल खेलमा छात्रातर्फको उपाधी प्रभात माविले जितेको छ । फाइनल खेलमा बाघभैरव माविलाई १–० गोलअन्तरले हराउँदै प्रभात माविले उपाधी जितेको हो । जितसँगै प्रभात माविले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बाघभैरव माविलेले १० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

यस्तै शिक्षकतर्फ वडा नम्बर ८ लाई २–० गोलअन्तरले हराउँदै ४ नम्बर वडाले उपाधी जितेको छ । जितसँगै ४ नम्बर वडाले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता ८ नम्बर वडाले १० हजार रुपैयाँमा चित्त बुझाएको छ । बुधबार बिहान भएको सेमिफाइनल खेलमा ३ नम्बर वडालाई ट्राइब्रेकरमा ३–२ गोलले हराउँदै वडा नम्बर ४ फाइनल प्रवेश गरेको थियो । निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । यस्तै उपविजेता ८ नम्बर वडा ९ नम्बर वडालाई ट्राइब्रेकरमा ३–२ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । निर्धारित खेल समय १–१ गोलको बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।