गुगल तस्विर ।

हेटौंडाः हेटौंडा–सिन्धुली सडकखण्डअन्तर्गत हेटौंडा–१७, हटिया कठायतचोकमा बुधबार बिहान भएको दुर्घटनामा परी घाइते एक किशोरको मृत्यु भएको छ ।

बुधबार बिहान ११ बजेको समयमा दुर्घटना हुँदा गम्भीर घाइते भएका हेटौंडा–१८, भालुखोलाका १८ बर्षीय किशोर अर्जुन भोम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विक्रम खड्का मगरले जानकारी दिनुभएको छ । हेटौंडा अस्पतालमा उपचारको क्रममा ११ बजेर ४० मिनेटको समयमा भोम्जनको मृत्यु भएको हो ।

हेटौंडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर आफसमा ठोक्किएर दुर्घटना भएको थियो । स्कुटरमा सवार मकवानपुरको बागमती गाउँपालिका–८, शान्तिपुरकी ललिता मगर, नुवाकोट जिल्लाको ककनी नगरपालिका–४ घर भई हाल बागमती गाउँपालिकामै बस्दै आएकी जीना लामा र मोटरसाइकलमा सवार हेटौंडा–१८, भालुखोलाका दीपक घलान घाइते छन् । घाइते मध्ये ललिता र जीनालाई थप उपचारका लागि भरतपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।