हेटौंडाः स्नातक तह चौथो वर्षको वार्षिक परीक्षा चैत दोस्रो सातादेखि सुरु हुने तालिका त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको छ । विश्वविद्यालयको परीक्षा तालिकाअनुसार परीक्षाको तयारी गरिरहेका हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा वाणिज्य संकायमा चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले शुक्रबार क्याम्पस परिसरमा रोजगारीको अवसरका लागि परीक्षा दिइरहेका थिए । म्यामेजमेन्टले रोजगारदाता र रोजगारीको अपेक्षा गर्ने विद्यार्थीबीच भेटवार्ताको अवसर जुराएको हो ।
स्नातक उत्तीर्ण भएर श्रम बजारमा रोजगारीको खोजी गर्न जाने विद्यार्थीलाई अन्तिम वर्षको परीक्षाअघि नै रोजगारदातासँग भेटवार्ता गराएर म्यानेजमेन्टले समन्वयकारी भूमिका निर्वाह गरिदिएको हो । औपचारिक शिक्षा मात्रै नदिई रोजगारीको अवसरका लागि आवश्यक सहजीकरण गरिदिएको हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशी बताउनुहुन्छ । म्यानेजमेन्टले यसरी रोजगारदाता र रोजगारीको अवसरका लागि आकांक्षी विद्यार्थीबीच भेटवार्ता गराएको यो दोस्रो पटक हो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2023/03/job-fair-1024x768.jpg)
१८ वटा रोजगारदाता कम्पनिका सञ्चालक र ५६ जना विद्यार्थीबीच शुक्रबार भेटवार्ता भयो । म्यानेजमेन्टले करिब ३ महिनाको तयारीपछि शुक्रबार रोजगार मेलाको आयोजना गरेको हो । मकवानपुर जिल्लामा रहेका विभिन्न कम्पनिका सञ्चालकले अग्रीम रुपमा प्राप्त विद्यार्थीको विवरणका आधारमा सूचि बनाएर अन्तरवार्ता लिएको थियो । रोजगारीका लागि जीवनमै पहिलो पटक अन्तरवार्ता दिने तयारीमा रहेका बीबीएस चौथो बर्षका विवेक चौधरीले एकैदिन ३ पटक अन्तरवार्ता दिनुभयो । आफ्नै पारिवारिक व्यवसायलाई समय दिने योजनामा रहनुभएका चौधरी क्याम्पसमै भइरहेको रोजगार मेलामा सहभागी भएर केही सिक्न चाहेको बताउनुहुन्छ । बीबीएस चौथो वर्षकै सुजाता गौतमले रोजगारदातासँगको भेटवार्ताले रोजगारीका विविध आयामका बारेमा थाहा पाउन पाएको उल्लेख गर्नुभयो । बीआइएम आठौं सेमेस्टरकी विद्यार्थी सुमी बानियाँ रोजगार मेला सकारात्मक भए पनि तयारी नपुगेको, रोजगारदाताहरु उत्साहित नभएको बताउनुहुन्छ ।
रोजगारदाता कम्पनिको प्रतिनिधिको रुपमा समेत उपस्थित हुनुभएका उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत राज प्याकुरेल म्यानेजमेन्टको प्रयास सराहनीय भएको उल्लेख गर्नुहुन्छ । “स्नातक तहको अध्ययन पूरा हुँदै गर्दा रोजगारदातासँग भेटवार्ताको अवसर सिर्जना गर्ने म्यानेजमेन्टको प्रयास सराहनीय छ । तर, यसलाई प्रभावकारी र उपलब्धीमूलक बनाउन अझ धेरै मिहिनेत र तयारी आवश्यक छ ।”