सांकेतिक चित्र ।

हेटौंडाः हेटौंडा उपमहानगरका २३ वटा संस्थागत विद्यालयले मात्र शैक्षिक शुल्क प्रस्ताव बुझाएका छन् । शिक्षा नियमावलीअनुसार विद्यालयहरुलाई उपमहानगरले शैक्षिक शुल्क प्रस्ताव गर्न आग्रह गरेको छ । तर हालसम्म अझै २५ वटा विद्यालयले शैक्षिक शुल्क प्रस्ताव पेश नगरेको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रमेश बिडारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार स्थानीय तहको मतहातमा शिक्षा आएपछि कुन विद्यालय वर्गीकरण रहेको छ भन्ने कुरा जानकार छैनन् । जसले गर्दा कुन विद्यालयले कति शुल्क लिइएको भन्ने आधार नभएको उहाँको भनाइ छ । विद्यालयको वर्गीकरण कुन आधारमा गरिएको र कति वटा विद्यालय वर्गीकरणमा रहेको भन्ने कुरा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर हुन सक्ने उहाँको धारणा छ । नयाँ शैक्षिक सत्र सुरु हुन अब करिब २ महिना बाँकी रहेको छ । हालसम्म संस्थागत विद्यालयहरुले भने शुल्क प्रस्ताव गरेका छैनन् ।

शिक्षा अधिकृत बिडारी भन्नुहुन्छ, ‘अहिलेसम्म शैक्षिक शुल्क प्रस्ताव पेश नगर्नुको कारण उपमहानगरले खोजी गरिने र यदि समय अभावले शैक्षिक शुल्क प्रस्ताव पेश नगरिएको हकमा प्रस्ताव पेश गर्न पहल गरिने बताउनुभयो । विद्यालयहरुले शैक्षिक गतिविधि, मासिक शुल्क, कम्प्युटर जस्तै प्रयोगशालाहरु प्रयोग, विद्यार्थी संख्या, छात्रवृत्ति, भौतिक सुविधाहरुको आधारमा विद्यालयको वर्गीकरण गरिएको हुन्छ । सोही बमोजिम विद्यालयहरुले शैक्षिक शुल्क लिन पाउने व्यवस्था छ । विद्यालयले शैक्षिक शुल्क प्रस्ताव गरेपछि शुल्क निर्धारण समितिले छानबिन गरी विद्यालय शुल्क लिन पाउने व्यवस्था रहेको छ ।

यदि शिक्षा नियमावली बिपरित शैक्षिक शुल्क लिने विद्यालयलाई कानुन बमोजिम कार्वाही गरिने व्यवस्था रहेको उहाँले बताउनुुुभयो । उहाँकाअनुसार विद्यार्थी र अभिभावकहरु लिखित रुपमा विद्यालयले शैक्षिक शुल्क बढी लिएको विरुद्धमा उजुरी दिए उपमहानगरले कार्वाही गरिनेछ । तर हालसम्म उक्त विषयमा उजुरी भने नआएको बताउनुभयो । उपमहानगरले कुनै माध्यमबाट विद्यालयहरुलाई शैक्षिक शुल्क प्रस्ताव पेश गर्न आग्रह गरिने उहाँको भनाइ छ । उपमहानगरलाई अटे गर्दै शैक्षिक शुल्क प्रस्ताव पेश नगर्ने विद्यालयलाई शुल्क निर्धारण समितिले अध्ययन अनुसन्धान गरि कार्वाहीको दायरामा ल्याइने उहाँको दाबी छ । उपमहानगरमा ४८ वटा संस्थागत विद्यालय रहेका छन् ।