गुगल तस्विर ।

हेटौंडाः चितवन जिल्लामा बुधबार दिउँसो एकजनाको रुखबाट लडेर मृत्यु भएको छ भने बुधबार राती एकजना मृत भेटिएको छ । चितवन जिल्लाको माडी नगरपालिका–६, कल्याणपुर मध्यवर्ती जंगलमा रुखबाट लडेर माडी नगरपालिका–६ रामराज्यपुरका ५६ वर्षीय अर्क बहादुर खत्रीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

बुधबार दिउँसो १ बजेर ३५ मिनेटको समयमा मध्यवर्ती जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडी गम्भीर घाईते भएका खत्रीको बुधबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै चितवन जिल्लाको भरतपुर महानगरपालिका–१०, कालिकाचोकमा एक किशोरी मृत फेला परेकी छिन् ।

भारतको आसाम घर भई भरतपुरको कालिकाचोकमा बस्दै आएकी १९ वर्षीया सुनिता शर्मा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । सुनिता आफ्नै डेरामा बुधबार राती १२ बजेर ४५ मिनेटको समयमा मृत फेला परेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।