हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङमा निशुल्क आँखा शिविरको सुरु भएको छ । थाहा नगरपालिका र पालुङ जेसीजको स्थानीय व्यवस्थापनमा भएको शिविरमा ९७ महिला र ६६ पुरुष गरी १६३ जनाको आँखा परीक्षण गरिएको पालुङ जेसीजका महासचिब सञ्जय गोपालीले बताउनुभयो ।

शिविरमा थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिकाका आँखाका बिरामीहरुले सेवा लिएका छन् । शिविर शुक्रबारसम्म संचालन हुने आयोजकले जनाएको छ । आँखा परीक्षणबाट मोतिबिन्दुको लक्षण देखिएका बिरामीहरुको पालुङमै आज बिहीबार र भोलि शुक्रबार निशुल्क शल्यक्रिया गरिने तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङकी प्रमुख बिनी महर्जनले बताउनुभयो । उहाँले आँखाको जटिल उपचार गर्नुपर्ने बिरामीहरुलाई काठमाडौ रिफर गर्ने र काठमाडौमा समेत निशुल्क उपचार गरिने बताउनुभयो ।

शिविरमा पालुङ जेसीजका अध्यक्ष संगम कार्की महासचिव सञ्जय गोपाली, कोषाध्यक्ष माधव कार्कीको उपस्थिति रहेको थियो । शिविरमा तिलगंगा आँखा अस्पताल काठमाडौंका चिकित्सकको टोलीले आँखा परीक्षण गरेका छन् ।