हेटौंडाः कोरोना भाइसरको संक्रमणको जोखिम न्यून गर्न सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण सबै क्षेत्र यतिखेर ठप्प छन् । यस्तोमा शैक्षिक क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे मकवानपुरमा भने गृहकार्य सुरु भएको छ । जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा आईतबार सरोकारवालाको सहभागितामा छलफल भएको छ ।
बैठकले स्वास्थ्य सम्बन्धी सावधानी अपनाएर भौतिक दुरी कायम गरी गर्न सकिने कामहरु गर्नुपर्ने निश्कर्ष निकाल्दै शैक्षिक क्षेत्रलाई सुचारु गर्ने निर्णय गरेको हो । लकडाउनका कारण शैक्षिक क्षेत्र धरासायी हुने अवस्थालाई मध्यनजर गर्दै आइतबार बसेको बैठकले शैक्षिक क्षेत्र सुचारु गर्न विभिन्न निर्णयहरु गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष खुलालले जानकारी दिनुभयो । बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा अनलाईन माध्यम सम्भव भएमा अनलाईन र सम्भव नभएमा अन्य उपयुक्त माध्यमबाट प्रकाशन गर्ने र कक्षा ८ को नतिजा स्थानीय पालिकाको कार्यक्रम अनुसार प्रकाशन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले पालिकाहरुले राष्ट्रिय अभिभावक संघ समेतको संलग्नतामा पुस्तक व्यवसायीबीच बैठक गरी सहज ढंगबाट ढुवानी गर्ने र नतिजा प्रकाशन पश्चात विद्यार्थीलाई सहज पहुँच पुग्ने गरी पाठ्यपुस्तक उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । त्यस्तै सरकारले जारी गरेको लकडाउनमा सामाजिक दुरी कायम राख्नुपर्ने भएकाले लकडाउन खुला भएपछि पठनपाठन सुचारु हुने पुर्वसन्ध्यामा विद्यार्थी भर्ना गराउने निर्णय गरेको छ ।
बैठकले एसईई सञ्चानार्थ उपकेन्द्र निर्धारण गर्ने सन्दर्भमा शिक्षा विकास तथा समन्वय इकाईले आवश्यक छलफल गरेर विवरण तयार पारेर जिल्ला परीक्षा समन्वय समितिमा पठाउने तथा दूरशिक्षा सिकाई सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर आगामी बैठकमा छलफल गर्ने निर्णय गरेको खुलालले जानकारी दिनुभयो । बैठकमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लिलानाथ गौतम, राष्ट्रिय परिक्षा बोर्ड मकवानपुरका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षक महासंघका अध्यक्ष जिधराज ढकाल, राष्ट्रिय अभिभावक संघका अध्यक्ष धु्रब चौलागाई, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्रीराम दाहाल, शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, नगर शैक्षिक समितिका अध्यक्ष सागर खतिवडा, शिक्षक महासंघ हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष दीपक अधिकारी, प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी, संस्थागत विद्यालय अभिभावक संघकी अध्यक्ष रमिला सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका प्रचार विभाग प्रमुख सुनिल गौतमलगयतको सहभागितता थियो ।