हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सभा भवनको निरीक्षण गर्नुभएको छ । आज आइतबार प्रदेशको राजधानी हेटौंडा १० मा रहेको प्रदेश सभा भवनमा सभा संचालनका लागि भवनको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच भौतिक दुरी कायम गरेर बैठक संचालन गर्ने विषयमा छलफल भएको थियो ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गरी प्रदेश सभा सदस्यहरुलाई बस्ने व्यवस्था गरिने सभामुख श्रेष्ठले जानकारी गराउनुभयो । बजेट ल्याउने समय भएकोले प्रदेश सभा आव्हान गर्न जरुरी रहेकोले संसद बोलाउने तयारी स्वरुप भवनको निरीक्षण गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । सभामुख श्रेष्ठले जेठको पहिलो हप्तासम्म प्रदेश सभा बोलाउने तयारी भइरहेको बताउनुभयो ।
नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा प्रदेश सरकारले छलफल गरिरहेको छ । मुख्यमन्त्री पौडेलसँग आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राया, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियालगायत प्रदेश सभा भवन निरीक्षणमा जानुभएको थियो ।