सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीय ।

हेटौंडाः मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा सार्वजनिक सुनाई कार्यक्रम भएको छ । आइतबार राक्सिराङ–२, कुडुलेमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो ।

कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा सहजीकरण, व्यवस्थित खानेपानी वितरण र बालविवाहसम्बन्धी नीति नियमबारे छलफल भएको प्रमुख गर्तौलाले बताउनुभयो । कार्यक्रममा सहभागीहरुले कृषि, सडक विस्तार हुन नसकेको, तरकारीको बजारीकरण र थौरै बजेट भएको गुनासो गरेका थिए । स्थानीयहरुले फलामे पोल हालेर काठे पोल विस्थापन गरिदिन माग गरेका छन् ।

यस्तै, चट्याङबाट हुने क्षतिबारे सचेतना र रोकथामका कार्यक्रम गर्न माग गरिएको प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताउनुभयो । पालिकाभित्रका विद्यालयहरुमा शिक्षक दरबन्दी, विज्ञान प्रयोगशाला, कम्युटर प्रयोगशाला र खेल मैदानको अभाव भएको गुनासो आएको प्रमुख गर्तौलाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिकाभित्रका शिक्षा, कृषि, सडक र विजुलीबत्ती सबैको पहुँचमा पुर्याउने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा गाउँसभाद्वारा स्वीकृत आयोजना तथा कार्यक्रम चाँडो कार्यान्वयन गर्ने बताउनुभयो । गाउँपालिकाको चालु आर्थिक बर्षको बजेट ६६ करोड ४४ लाख रुपैयाँ रहेकोमा २५ प्रतिशतभन्दा बढी खर्च भइसकेको प्रमुख गर्तौलाले बताउनुभएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब ६० प्रतिशत योजना सम्झौता गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न गर्ने २ सय ५ वटा योजनामध्ये १ सय १४ वटा योजना सम्झौता गरेको छ भने ४ वटा योजनाहरु सम्पन्न गरेको उल्लेख गरेको छ ।
२ नम्बर वडाध्यक्ष बाबुराम मोक्तानको सभाध्यक्ष तथा गाउँपालिकाका प्रमुख राजकुमार मल्लको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पालिकाका उपप्रमुख वनस्थम थिङ, १ नम्बर वडाध्यक्ष बाबीराम थिङ र ३ नम्बर वडाध्यक्ष उत्तम वाईबालगायत पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।