फाइल तस्विर ।

हेटौंडाः बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले व्यक्तिलाई अनुदान दिने काम रोक्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा आयोजित खाद्य अधिकारसम्बन्धी विद्यमान कानुन र कार्यान्वयनको अवस्थाबारे नीति निर्माताहरुसँगको संवादमा बोल्नुहुँदै उहाँले प्रदेश सरकारले समुदाय लक्षित अनुदान मात्र दिने बताउनुभयो ।

व्यक्तिलाई अनुदान दिँदा वास्तविक किसान भने सधैं मारमा पर्ने भएकोले प्रदेश सरकारले नयाँ ढंगले काम गर्ने बताउनुभयो । व्यक्तिलाई अनुदान दिने नीतिलाई नबदलेमा जति बजेट छुट्याए पनि अनुदान दिए पनि केही उपलब्धि नहुने उहाँले बताउनुभयो । समुदाय लक्षित अनुदान दिएमा उत्पादन बढ्ने र खाद्यमा आत्मनिर्भर हुने उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारले किसानको उत्पादनलाई बजार व्यवस्थापन गरिने बताउनुभयो । उहाँले प्रदेश सरकारले किसानलाई तालिम, मल, बीउ, पानी र प्राविधिक दिने बताउनुभयो ।

यस्तै, बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री केशवराज पोखरेलले बागमती प्रदेश सरकारले नयाँ ढङ्गले काम गर्न सुरु गरिसकेको बताउनुभयो । किसानहरुलाई व्यावसायिकताको आधारमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्ने उहाँले बताउनुभयो । अहिले प्रदेश सरकार किसानहरूको गुनासो सुन्न किसान हेल्प डेस्क निर्माण गरिएको र किसानहरुको राम्रो प्रतिक्रिया पाएको बताउनुभयो ।

यस्तै, फियान नेपाल बागमती र मधेस प्रदेशकी संयोजक लक्ष्मी गुरुङले सरोकार निकायले भोकमरीको अन्त्य गर्नुपर्ने बताउनुभयो । अहिले कृषि पेशाको संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । किसानको पहिचान र सम्मान गर्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको पनि उपस्थिति रहेको थियो ।