बकैया गाउँपालिकामै तयार पारिएको तरबुजाको बेर्ना ।

हेटौंडाः बकैया गाउँपालिकाले कृषकहरुलाई तरबुजाको विरुवा वितरण गरेको छ । पालिकाले फागुनको पहिलो सातादेखि कृषकहरुलाई तरबुजाको विरुवा वितरण गर्न सुरु गरेको हो ।

हालसम्म करिब ४५ जना कृषकहरुलाई १० हजार विरुवा उपलब्ध गराइसकेको बकैया गाउँपालिकाको आर्थिक विकास शाखा प्रमुख अशोक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले गत माघ महिनाको ३ गतेदेखि तरबुलाको ब्याड राख्ने कार्य सुरु गरेको थियो । ब्याड राखेको एक महिना अगावै पालिकाले किसानहरुलाई विरुवा उपलब्ध गराएको उहाँको भनाइ छ ।

२२ हजार विरुवा किसानलाई उपलब्ध गराउने लक्ष्य राखिए पनि २० हजार विरुवामात्र १ सय ४५ जना कृषकलाई उपलब्ध गराइने उहाँले बताउनुभयो । एउटा ब्याडमा तरबुजाको विरुवा राम्रोसँग उमार्न नसकेपछि लक्ष्यअनुसार विरुवा उपलब्ध गराउन नसकेको सिंहले जानकारी दिनुभयो ।

अझै एकसातासम्म छुटपुट भएका किसानहरुलाई उक्त विरुवा उपलब्ध गराउने उहाँले बताउनुभयो । कम्तिमा ३ कठ्ठा जग्गा भएका कृषक व्यवसायीलाई प्रतिकठ्ठा २ सय वटा तरबुजाको विरुवा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । उहाँले एक कठ्ठा जग्गा भएका कृषकहरुलाई भने करिब २० वटा विरुवा उपलब्ध गराइएको बताउनुभयो ।

कृषकहरुलाई तरबुजा विरुवा वितरणका लागि पालिकाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको आर्थिक विकास शाखा प्रमुख सिंहले जानकारी दिनुभयो । शुक्रबार नै पालिकाले कार्यालय परिसरमा समेत तरबुजाको बिरुवा रोपेको छ । गाउँपालिका उपाध्यक्ष भक्त खत्रीलगायत बकैया गाउँपालिकाका कर्मचारीले पालिका परिसरमा विरुवा रोपेको हो ।