हेटौंडाः हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा आइतबार राती चोरी भएको छ । अन्दाजी १५÷१६ बर्षका दुईजना बालक विद्यालयमा चोरी गरिरहेको सीसी क्यामेरामा कैद भएको देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीले बताउनुभयो ।
विद्यालयबाट ९ हजार रुपैयाँ चोरी भएको उहाँले जानकारी दिनुभयो । राती करिब २ बजेको समयमा विद्यालयको कार्यालय रहेको तीनवटा कोठा र ६ वटा दराज फोरेर उनीहरुले चोरीको प्रयास गरेको तथा विद्यालयको ल्यापटप, प्रोजेक्टर लगायतका सामानहरु भुइँमा छरपष्ट पारेको पराजुलीले बताउनुभयो । चोरले २० हजार रुपैयाँ बराबरको मोवाइल र १० हजार रुपैयाँ बराबरको जिन्सी सामान चोरी गरेको विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभएको छ । चोरी गर्ने क्रममा दराजका ताला, ढोका फोडिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
केही दिनअघि हेटौंडा–५, गर्दोईस्थित लक्ष्मी आधारभूत विद्यालयमा पनि चोरी भएको थियो । लक्ष्मी आधारभूत विद्यालयमा पनि चोरहरुले नगद २७ हजार रुपैयाँ मात्रै चोरी गरेका थिए । विद्यालयमा चोरीको घटना भए पनि चोरीमा संलग्नलाई पक्राउ गर्न प्रहरी असफल हुँदा विद्यालयमा चोरीका घटना बढ्ने देखिएको छ ।











